• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २० भदौ २०८३ शनिबार । चाडपर्व नजिकिएसँगै उपभोक्ताको चहलपहल बढ्ने भएकाले लमजुङ उद्योग वाणिज्य संघले जिल्लाभरका पसल तथा व्यवसाय शनिबार पनि खुला राख्न व्यवसायीलाई आग्रह गरेको छ। संघले आजदेखि अर्को सूचना जारी नभएसम्म आ–आफ्नो आवश्यकता र अनुकूलताअनुसार शनिबारसमेत नियमित रूपमा व्यवसाय सञ्चालन गर्न उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको हो।

संघ जिल्ला समितिको हिंजो बसेको बैठकले उपभोक्तालाई चाडपर्वका बेला आवश्यक वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको महासचिव विपिन श्रेष्ठले प्रहार समाचारलाई बताए। यसअघि सार्वजनिक बिदाका रूपमा रहेको शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आए पनि चाडपर्वको समयमा बजारमा उपभोक्ताको आवतजावत बढ्ने भएकाले व्यवसाय सञ्चालनलाई सहज बनाउने उद्देश्यले शनिबार पनि बजार खुला राख्न आग्रह गरिएको श्रेष्ठले बताए।

संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेको यो निर्णय बाध्यकारी नभएको संघले स्पष्ट पारेको छ। व्यवसायीले आफ्नो आवश्यकता, व्यवसायको प्रकृति र अनुकूलताअनुसार शनिबार पसल तथा व्यवसाय सञ्चालन गर्न सक्नेछन्। निर्णयबारे थप जानकारी तथा सोधपुछका लागि संघको सचिवालयको सम्पर्क नम्बर ०६६–५२०१५६ र जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठको मोबाइल नम्बर ९८५६०४५२४८ मा सम्पर्क गर्न संघले अनुरोध गरेको छ।
















