प्रहार समाचार । तनहुँ, २२ भदौ २०८३ सोमबार । दमौली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीले खोसेका अमूल्य जीवनको सम्झनामा तनहुँको व्यास नगरपालिका–१ तालघरेमा सोमबार शोकसभा आयोजना गरिएको छ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै तालघरेवासीले विपद्को पीडामा एकताबद्ध हुने प्रतिबद्धता जनाएका छन्।

गाउँ सुधार समितिको सक्रियतामा आयोजित शोकसभामा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। शोकसभामा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण तथा मैनबत्ती प्रज्ज्वलन गरेका थिए।

कार्यक्रममा गाउँ सुधार समितिका अध्यक्ष सुनिल श्रेष्ठ, निवर्तमान अध्यक्ष हरि सिंह गुरुङ लगायतको उपस्थितिमा बाढीबाट भएको मानवीय क्षतिले निम्त्याएको पीडाप्रति दुःख व्यक्त गरिएको थियो। वक्ताहरूले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको दुःखमा राज्य, स्थानीय समुदाय र सामाजिक संस्थाहरू थप जिम्मेवार भएर उभिनुपर्नेमा जोड दिए।वक्ताहरूले विपद् कुनै व्यक्ति वा समुदायको मात्रै समस्या नभई सबैको साझा चुनौती भएको उल्लेख गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र आवश्यक सहयोगमा निरन्तर सहकार्य आवश्यक रहेको बताए। विपद्पछि पीडित परिवारले भोगिरहेको मानसिक तथा सामाजिक पीडालाई समेत सम्बोधन गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

शोकसभामा सहभागी स्थानीयवासी, सामाजिक अभियन्ता, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूले बाढीमा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार क्षमता विस्तार तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याएका थिए।
















