हेडलाईनव्याससमाचारगण्डकी

वर्ष, महिना र गते जोडेर विपत्मा सहयोग : दमौली खानेपानीको ८३ हजार ५ सय १० राहत कोषमा जम्मा

प्रहार समाचार । तनहुँ, २२ भदौ २०८३ सोमबार । विपत्मा सहयोग रकम जुटाउने आफ्नै मौलिक शैली अपनाउँदै दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ८३ हजार ५ सय १० सहयोग गरेको छ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि पीडितको उद्धार तथा राहतका लागि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।संस्थाले सहयोग रकमलाई विपत् घटेको वर्ष, महिना र गतेसँग जोडेर प्रतीकात्मक बनाएको छ। २०८३ साल जनाउने गरी ८३ हजार, भदौ महिना जनाउने गरी ५ सय र भदौ १० गते जनाउने गरी १० रुपैया थप गरी ८३ हजार ५ सय १० सहयोग गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठका अनुसार उक्त सहयोग दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, व्यास–४, दमौलीका कार्यसमिति, संस्था तथा कर्मचारीहरूको तर्फबाट एक मुष्ठ प्रदान गरिएको हो। अध्यक्ष श्रेष्ठले विपत् कुनै एक व्यक्ति, संस्था वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको उल्लेख गर्दै पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताए। उनले प्राकृतिक विपत्का कारण घरबारविहीन तथा आफन्त गुमाएका नागरिकको पीडामा मल्हम लगाउन राज्यसँगै संघसंस्था, निजी क्षेत्र र आम नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए।“विपत्को समयमा गरिएको सानो सहयोगले पनि पीडितका लागि ठूलो अर्थ राख्न सक्छ,” अध्यक्ष श्रेष्ठले भने, “मानवीय सेवाको भावनाले गरिएको सहयोगले पीडितलाई राहतसँगै आफूहरू एक्लो छैनौँ भन्ने अनुभूति गराउँछ।

”भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो। संस्थाले विपत्का बेला पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button