प्रहार समाचार । तनहुँ, २५ भदौ २०८३ बिहीबार । धर्म भनेको केवल पूजा, आराधना र भजन–कीर्तनमा सीमित हुँदैन भन्ने उदाहरण तनहुँको व्यास–३ दमौलीस्थित व्यास ज्योति धर्म जागरण भजन कीर्तन समूहले प्रस्तुत गरेको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले समूहले भजन–कीर्तनमार्फत संकलन गरेको १ लाख ३३ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

विपत्तिमा परेका नागरिकका लागि आफ्नो आस्था र साधनालाई सहयोगको माध्यम बनाउँदै समूहले गरेको यो कार्य सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रेरणादायी उदाहरण बनेको छ। समूहका अध्यक्ष राजकुमार श्रेष्ठले विपत्तिको समयमा पीडितको साथमा उभिनु हरेक नागरिकको मानवीय दायित्व भएको उल्लेख गर्दै भजन–कीर्तनबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको बताए। उनले धर्म र संस्कारलाई समाजसेवासँग जोड्न सके मात्रै धार्मिक गतिविधिको वास्तविक अर्थ स्थापित हुने धारणा व्यक्त गरे। “हामीले भजन–कीर्तन गरेर श्रद्धालुबाट संकलन गरेको रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी विपत्तिमा परेका नागरिकका लागि समर्पण गरेका हौँ,” श्रेष्ठले भने, “सानो सहयोगले पनि पीडित परिवारको दुःखमा आशाको अनुभूति दिलाउन सक्छ भन्ने हाम्रो विश्वास हो।

”समूहकी कोषाध्यक्ष कोपिला थापा मगरले आफूहरूले संकलन गरेको रकम राज्यको राहत कोषमा जम्मा गर्नु आर्थिक सहयोग मात्र नभई विपत्तिमा एकअर्काको साथमा उभिने सामाजिक सन्देशसमेत भएको बताइन्। उनले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सामाजिक सेवासँग जोडेर अघि बढाउन सके समुदायमा सकारात्मक ऊर्जा र सहयोगको भावना अझ बलियो बन्ने उल्लेख गरिन्।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग जुटाएको भन्दै उनले आगामी दिनमा पनि मानवीय सेवाका अभियानमा समूह सक्रिय रहने बताइन्।विपत्तिमा राज्यको मुख ताकेर मात्र बस्ने होइन, आफूले सक्ने ठाउँबाट सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ भन्ने सन्देश व्यास ज्योति समूहको यो अभियानले दिएको छ। भजनको स्वरबाट उठेको रकम पीडितको राहतमा पुग्नु आफैंमा धर्म, मानवता र सामाजिक जिम्मेवारीबीचको सुन्दर संगम हो।

















