प्रहार समाचार । काठमाडौं, २ जेष्ठ २०८३ शनिबार। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गर्दै स्थानीय तहका कर्मचारीलाई धम्की दिइएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। शनिबार जारी प्रेस विज्ञप्तिअनुसार दैलेखको दुल्लु नगरपालिका ११ का वडा सचिव कमल भण्डारीलाई ‘प्रकाश खड्का’ नाम गरेका व्यक्तिले फोनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र व्यवहार तथा धम्की दिएको अडियो सार्वजनिक भएपछि कार्यालयको ध्यानाकर्षण भएको हो। कार्यालयले कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार काम गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र दबाब सिर्जना गर्ने गतिविधिलाई “पूर्ण रूपमा निन्दनीय र अस्वीकार्य” भनेको छ।

विज्ञप्तिमा घटनालाई लिएर सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल अनुसन्धान अघि बढाई दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको उल्लेख छ। साथै सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र मनोबलप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, सचिवालय वा उच्च पदाधिकारीको पहुँच देखाएर फोन, सन्देश वा अन्य माध्यमबाट प्रभाव पार्न खोज्ने गतिविधिबाट सचेत रहन सबै सरकारी निकाय, स्थानीय तह तथा कर्मचारीलाई आग्रह गरेको छ। यस्ता संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण नगरी कुनै पनि निर्णय वा कार्य अगाडि नबढाउन समेत कार्यालयले निर्देशन दिएको छ। विज्ञप्तिमा राज्यको प्रशासनिक गरिमा र संस्थागत विश्वसनीयतामाथि असर पार्ने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उल्लेख गरिएको छ।
























