प्रहार समाचार । काठमाडौं, २ जेष्ठ २०८३ शनिबार । काठमाडौं महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रमस्थित होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ।

शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र बालबालिकाका अभिभावकबीच त्रिपक्षीय सम्झौता गर्दै कक्षा १० सम्मका लागि निःशुल्क आवासीय शिक्षा सुनिश्चित गर्ने निर्णय गरेको हो। सम्झौता अनुसार बालबालिकाले विद्यालयमा अध्ययनसँगै होस्टेल सुविधा समेत प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, विद्यालयका तर्फबाट प्रधानाध्यापक तथा विद्यार्थीका तर्फबाट अभिभावकले हस्ताक्षर गरेका छन्। बालबालिकासँग संवाद गर्दै कार्यवाहक प्रमुख डंगोलले उनीहरुलाई अनुशासित भएर अध्ययनमा ध्यान दिन आग्रह गर्नुभयो। “राम्ररी पढ्नु, तपाईँहरू असल नागरिक बन्नुपर्छ,” उहाँले भन्नुभयो।महानगरपालिकाले जोखिम तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको शिक्षा, आवास र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
























