प्रहार समाचार । तनहुँ, ३ जेठ २०८३ आइतबार । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर ट्राफिक प्रहरीले तनहुँ जिल्लाका विभिन्न स्थानमा सडक सुरक्षा र यात्रु सचेतनालाई केन्द्रमा राख्दै विशेष जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत राजमार्ग तथा व्यस्त बजार क्षेत्रमा प्लेकार्ड, व्यानर प्रदर्शन गर्नुका साथै पर्चा, पम्पलेट र स्टिकर वितरण गरेर सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराइएको हो ।
अभियानको मुख्य आकर्षणका रूपमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालक र सह–चालकलाई ‘२ मिनेट सचेतना कार्यक्रम’ सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । छोटो समयमै दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा, सिट बेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने लगायत विषयमा चालकलाई सम्झाइ–बुझाइ गरिएको थियो ।

कार्यक्रममार्फत सार्वजनिक सवारी साधनमा आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्न विशेष जोड दिइएको छ । ट्राफिक प्रहरीले ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि छुट्याइएका सिट प्रभावकारी रूपमा कार्यान्वयन गर्न यातायात व्यवसायी र चालकलाई आग्रह गरेको जनाएको छ ।
त्यसैगरी सार्वजनिक सवारीमा भाडादर सूची स्पष्ट र यात्रुले सजिलै देख्ने स्थानमा टाँस गर्न तथा सवारी साधनमा सिसिटिभी क्यामेरा जडान गरी यात्रुको सुरक्षा, निगरानी र पारदर्शिता बढाउन समेत सचेतना फैलाइएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा केवल नियम पालना मात्र नभई यात्रुको जीवन र भरोसासँग जोडिएको विषय भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
























