हेडलाईनसमाचारघिरिङगण्डकीऋषिङभिमाद

तनहुँको कृष्णमार्ग र श्रृङ्गपथ यसै वर्ष ठेक्कामा जाने प्रतिबद्धता, मन्त्रीद्वयसँगको भेटपछि सांसद न्यौपानेको दाबी

प्रहार समाचार । तनहुँ, १९ असार २०८३ शुक्रबार । तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले कृष्णमार्ग र श्रृङ्गपथ सडक आयोजना चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता सरकारका सम्बन्धित मन्त्रीहरूबाट प्राप्त भएको बताएका छन्। स्मार्ट बोर्ड हस्तान्तरण तथा जनसंवाद कार्यक्रममा सहभागी हुन जाने क्रममा तनहुँ–२ को घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी पुलमा भएको भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

सांसद न्यौपानेका अनुसार भेटका क्रममा पूर्वाधार विकास मन्त्री सुनील लम्साल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसँग कृष्णमार्ग र श्रृङ्गपथ सडक आयोजनाको प्रगति तथा ठेक्का प्रक्रियाबारे छलफल भएको थियो। सो अवसरमा दुवै मन्त्रीले उक्त आयोजना यसै वर्षभित्र ठेक्का प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरेका छन्।सांसद न्यौपानेले निर्वाचनअघि आफूले स्थानीयवासीसँग गरेको प्रतिबद्धताअनुसार लामो समयदेखि अवरुद्ध पूर्वाधार विकासका कामलाई अघि बढाउन सरकार सकारात्मक बनेको दाबी गरेका छन्।

उनले सडक पूर्वाधार निर्माणले क्षेत्रको विकास, यातायात पहुँच विस्तार तथा स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै मन्त्रीद्वयप्रति आभारसमेत प्रकट गरेका छन्। सांसद न्यौपानेले सार्वजनिक गरेको तस्बिरमा मन्त्रीद्वयसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, विभागका इन्जिनियर तथा स्थानीयवासीको उपस्थिति देखिएको छ। यद्यपि कृष्णमार्ग र श्रृङ्गपथ सडक आयोजना कहिलेदेखि ठेक्का प्रक्रियामा प्रवेश गर्ने र निर्माण कार्य कहिलेदेखि सुरु हुने भन्ने विषयमा सम्बन्धित मन्त्रालयले औपचारिक निर्णय वा सार्वजनिक सूचना भने हालसम्म जारी गरेको छैन।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button