प्रहार समाचार । तनहुँ, १७ असार २०८३ बुधबार । चर्चित लेखक, पत्रकार तथा विश्लेषक नारायण वाग्ले यतिबेला कलमभन्दा खेतबारीमा बढी सक्रिय देखिएका छन्। व्यास नगरपालिका–११ मा कृषि कर्ममा जुटेका वाग्लेले लोपोन्मुख रैथाने रातो धानको बीउ संरक्षण र विस्तारको अभियान थालेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा धानको रास नजिक बसेर रैथाने धानको बीउ अंजुलीमा लिएर सुँघ्दै/ सुम्सुम्याउँदै राखेको तस्वीरसँगै लेखेको, “हरर्र बसाउला कि? रैथाने रातो धानको बीउ बल्ल भेटियो। वर्षमा तीनै खेप फल्ने रहेछ। अब हामी तनहुँमा यसैपालि यसको जोगाड गर्नेछौँ!” भन्ने अभिव्यक्तिले अहिले व्यापक चर्चा बटुलेको छ।

वाग्लेको यो अभियान केवल एउटा धान रोप्ने योजनामा सीमित छैन, बरु हराउँदै गएका रैथाने बीउ जोगाउने, स्थानीय कृषि प्रणालीलाई पुनर्जीवित गर्ने र कृषिप्रति नयाँ पुस्तामा आशा जगाउने प्रयासका रूपमा हेरिएको छ। पछिल्लो समय युवा पुस्ता कृषि पेशाबाट टाढिँदै गएको, उर्वर जमिन बाँझिँदै गएको र राज्यको प्राथमिकतामा समेत कृषि अपेक्षित रूपमा पर्न नसकेको अवस्थामा उनको यो कदमले समाजलाई गहिरो सन्देश दिएको छ।कृषिलाई केवल जीविकोपार्जन होइन, सभ्यता, संस्कृति र आत्मनिर्भरताको आधार मानिने नेपाली समाजमा वाग्लेजस्ता सार्वजनिक व्यक्तित्व स्वयं खेतमा उत्रिनु प्रेरणादायी उदाहरण बनेको छ।
उत्पादनमूलक श्रमप्रति सम्मान बढाउन, रैथाने बालीको संरक्षण गर्न र कृषि क्षेत्रलाई पुनः आकर्षक बनाउन यस्ता अभियानले सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ। तनहुँमै रैथाने रातो धान उत्पादन गर्ने उनको लक्ष्य सफल भए यसले स्थानीय कृषिमा नयाँ सम्भावना खोल्नुका साथै बीउ संरक्षण अभियानलाई पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।





















