प्रहार समाचार । काठमाडौं, २७ बैशाख २०८३ आइतबार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राष्ट्रिय हित र राष्ट्रियतासँग जोडिएका विषयमा सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले शासन व्यवस्था, अर्थतन्त्र सुधार र राष्ट्रिय हितका सवालमा कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

सभापति थापाले राष्ट्रियताका मुद्दामा कांग्रेसले कहिल्यै दलगत दृष्टिकोण नराखेको उल्लेख गर्दै वर्तमान सरकारलाई पनि आवश्यक सहयोग रहने स्पष्ट पारे । तर लोकतन्त्रका आधारभूत मान्यता विपरीत हुने कुनै पनि गतिविधि भने स्वीकार्य नहुने उनको भनाइ थियो ।उनले लोकतन्त्रमा कानुनी वैधतासँगै नैतिक वैधता पनि उत्तिकै महत्वपूर्ण हुने बताए । विगतको उदाहरण प्रस्तुत गर्दै उनले कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्सम्बन्धी निर्णयका क्रममा तत्कालीन उपसभामुखविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी भए पनि पार्टीले त्यसको विपक्षमा उभिएको स्मरण गरे ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निराश मानसिकता त्यागेर संगठन निर्माणमा सक्रिय हुन आग्रह गरे । गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने पनि उनले बताए । कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले नयाँ सोच र ऊर्जाका साथ पार्टीलाई अघि बढाउनुपर्ने समय आएको बताए । उनले कांग्रेसले अब केवल पार्टीभित्र सीमित नभई समाजलाई समेत समेट्ने साझा संगठनको रूपमा विकास हुनुपर्ने धारणा राखे । त्यसैगरी महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र कुनै आग्रह पूर्वाग्रह नराखी संगठनलाई एकीकृत र सुदृढ बनाइने बताए । अवसरबाट वञ्चित भएका सक्षम र निष्ठावान् नेता–कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि उनको भनाइ थियो ।
























