हेडलाईनसमाचारसूचना प्रविधि

सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन, नागरिकले सिधै दिन सक्ने सुझाव

प्रहार समाचार । काठमाडौं, २७ बैशाख २०८३ आइतवार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई समेटेर शासन प्रणालीलाई थप पारदर्शी तथा जनमुखी बनाउने लक्ष्यसहित यो डिजिटल प्लेटफर्म सुरु गरिएको सरकारको भनाइ छ ।

यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीतिनिर्माताले बजेट निर्माण, विकासका प्राथमिकता र नीतिगत विषयमा आफ्ना सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक दायराभित्र मात्र सीमित नराखी आमनागरिकको भावना, अनुभव र विज्ञतालाई समेट्ने प्रधानमन्त्रीको सोचअनुसार यो पहल अघि बढाइएको हो । पोर्टलमा प्राप्त सुझावको अवस्था तथा सरकारले त्यसमा गरेको प्रगतिबारे जानकारी लिन सकिने ‘सुझाव ट्र्याक’ सुविधा पनि प्रणालीमा राखिएको छ ।

सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान दिन सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button