हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

एचए, सीएमए र ल्याब समूहलाई दरबन्दीमा उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

प्रहार समाचार । काठमाडौं, २६ बैशाख २०८३ शनिबार । स्वास्थ्य सेवातर्फ सरकारले थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई समावेश नगरिएको भन्दै स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन् । ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा स्थायी दरबन्दी थप गरिए पनि आफूहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले शनिबार (वैशाख २६) जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन् ।

विरोध सभामा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले लामो समयपछि दरबन्दी थप हुनु सकारात्मक भए पनि एचए, सीएमए र ल्याब समूहको लागि एक पनि दरबन्दी नछुट्याइनु अन्यायपूर्ण भएको बताए । उनले सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोपसमेत लगाए । उनले सरकारले तत्काल निर्णय पुनरावलोकन गरी माग सम्बोधन नगरे वैशाख २८ गतेदेखि काठमाडौं केन्द्रित सशक्त आन्दोलन सुरु गर्ने चेतावनी पनि दिए । सरकारले दुई दिनअघि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाएको थियो, जसलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको छ । तर उक्त दरबन्दीमा सीमित समूहलाई मात्र प्राथमिकता दिइएको भन्दै आधारभूत तहमा कार्यरत स्वास्थ्यकर्मीहरू आफूहरूमाथि विभेद भएको निष्कर्षसहित आन्दोलनमा उत्रिएका हुन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button