समाचार

नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सरकारद्वारा ‘सुझाव संकलन पोर्टल’ सञ्चालन

प्रहार समाचार । काठमाडौं, २६ बैशाख २०८३ शनिबार ।आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, मौलिक अपेक्षा तथा विकाससम्बन्धी प्राथमिकतालाई समेट्ने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको जनाएको छ।

यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, अनुसन्धानकर्ता र नीति निर्माताहरूले बजेट निर्माण, विकास योजना तथा सार्वजनिक नीतिसम्बन्धी आफ्ना राय–सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई प्रशासनिक सीमाभित्र मात्र नराखी आम नागरिकको भावना, अनुभव र विज्ञतालाई समेत समेट्ने प्रधानमन्त्रीको अवधारणाअनुसार यो पहल गरिएको हो। उहाँले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको बताउनुभयो।

प्राप्त सुझावहरूलाई सम्बन्धित प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको समेत उहाँले स्पष्ट पार्नुभयो।पोर्टलमा दिइएका सुझावहरूको अवस्था तथा सरकारले चालेका कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा पनि समावेश गरिएको छ।सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान दिन सम्पूर्ण नेपाली नागरिकसँग आग्रह गरेको छ।नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्नेछन्। सुझाव पठाउनका लागि:सुझाव संकलन पोर्टल https://suggestions.opmcm.gov.np/


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button