प्रहार समाचार । काठमाडौं, २६ बैशाख २०८३ शनिबार । गण्डकी प्रदेश सरकारले विद्यालय, कलेज, अस्पताल लगायत संवेदनशील क्षेत्रको १०० मिटर वरपर चुरोट तथा रक्सीजन्य पदार्थको बिक्री र सेवनमा प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ। प्रदेश सरकारले हालै लागू गरेको ऐनअनुसार विद्यालय, कलेज, अस्पतालजस्ता सार्वजनिक तथा संवेदनशील स्थानको १०० मिटर क्षेत्रभित्र चुरोट, सूर्तिजन्य पदार्थ तथा रक्सी बिक्री गर्न, सेवन गर्न वा सेवनका लागि प्रोत्साहन गर्न पाइने छैन।

ऐन उल्लंघन गरेको पाइएमा सम्बन्धित व्यक्ति वा व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको छ। प्रदेश सरकारले युवापुस्तामा बढ्दो सूर्तिजन्य पदार्थ र मदिरा सेवन नियन्त्रण गर्न तथा सार्वजनिक स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। यस निर्णयलाई सार्वजनिक स्वास्थ्य तथा शैक्षिक वातावरण सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।




















