साहित्यप्रदेश

कुशेऔंसीको अवसरमा एक पिताको चिठ्ठी पुत्रीलाई

मेरो प्रिय छोरी ! अतीतका दिनहरूलाई नियाल्दै म आउने दिनहरूका बारेमा सोचिरहेको छु । जब समयले मेरो जीवनलाई बिस्तारै उत्तरार्धको चुलीतिर धकेल्दै लानेछ, मेरा हातहरू काँप्न थाल्नेछन्, मेरा पाइलाका गति धीमा हुनेछन् र मेरो मन-मुटुले पहिलेजस्तो साथ दिन छाड्ने छ, तब प्रिय छोरी, मेरो आग्रह छ— मप्रति आफ्नो धैर्य र प्रेमलाई कायम राख्नू, जसरी मैले सधैँ तिमीप्रतिको मेरो माया र धैर्यलाई कायम राखेँ।

छोरी, एक दिन यस्तो क्षण आउने छ- जब मेरो स्मृति मन्द हुनेछ, म उही कथा बारम्बार दोहोर्याउनेछु। मलाई आशा छ, मेरो मनमा अङ्कित ती कुराहरू तिमीले धैर्यपूर्वक सुन्नेछौ, जसरी म तिमीलाई सधैँ एउटै कथा सुनाउँथेँ, जबसम्म तिमी निदाउन्न थियौ। त्यस वेला त्यो कथा महत्त्वपूर्ण थिएन, सायद अहिले पनि ती शब्दहरू महत्त्वपूर्ण छैनन्— महत्त्वपूर्ण कुरा छ त केवल हाम्रो यो सम्बन्ध र यो आभास— हामी एक-अर्काको साथमा छौँ।

यदि कुनै दिन मैले तिमीलाई भन्न खोजेका कुराहरू भन्दाभन्दै बिर्सिएँ भने दिक्क नमान्नू, धैर्य गर्नू ! म केवल हाम्रो कुराकानी मात्र होइन, तिमी पनि मसँगै भएको महसुस गर्न चाहन्छु। तिम्रो निकटताको आभास नै मेरा लागि सबैभन्दा ठूलो महत्त्वको विषय हुनेछ, जसरी तिमी सानो हुँदा म सधैँ तिम्रा लागि त्यही अनुभूत गराउँथेँ।

जसै-जसै समय बित्दै जानेछ, मेरा पाइलाका गति पनि धीमा हुँदै जानेछन्। छोरी, यदि म तिम्रो गतिमा हिड्न सकिन भने मलाई माफ गर्नु, अन्यथा नठान्नू। बरु, मेरा कमजोर र चाउरिएका पाखुरा समात्नु— त्यसैगरी, जसरी तिमीलाई मैले जीवनको पहिलो पाइला चाल्न सिकाउँदा तिम्रो हाथ समातेको थिएँ। तिमीले संसारको आँखिझ्यालबाट पहिलोपटक चिहाउन थाल्दा म तिम्रै पछाडि थिएँ, अब तिमी पनि त्यही माया र कोमलताका साथ मेरो साथमा रहनू।

छोरी, यदि कहिल्यै मैले तिमीलाई म थाकेको छु या अब म विश्राम गर्न चाहन्छु भनेँ भने तिमी नरिसाउनू बरु बुझ्नू कि यो मेरो जीवनप्रतिको विमोह होइन, यो थाकेको जर्जर शरीरको बाध्यता हो। मैले जीवनबाट मुक्ति खोजेको होइन, म त केवल यसभित्र समाहित दुःखहरूबाट मुक्त हुन चाहन्छु।

प्रिय छोरी, एक दिन तिमीले महसुस गर्नेछौ, मेरो जीवनमा निश्चय नै मबाट धेरै कमीकमजोरी भएका होलान्, तर मैले तिमीप्रतिको मेरो मायामा कुनै कमीकमजोरी हुन दिइनँ। मैले तिमीलाई एउटा उत्कृष्ट जीवन दिन कहिल्यै कुनै सम्झौता गरिनँ। अब मेरो जीवनको उतरार्द्धमा म तिमीलाई अनुरोध गर्छु— मलाई माया र समझदारीले साथ देऊ, जसरी मैले तिम्रो जीवनको सुरुवातमा सधैँ तिम्रो साथ दिएको थिएँ।

बाबु, विन्ती छ, मलाई शान्तिपूर्वक मेरो जीवनामा बाँकी रहेका दिनहरूमा मेरो साथ देऊ। तिम्रो माया र स्नेहले मेरा ती क्षणहरूलाई सार्थक बन्न मदत गर। तिम्रो माया, तिम्रो धैर्य र तिम्रो साथ नै मेरा लागि जीवनको बहुमूल्य उपहार हुनेछ। यस अनुभूतिका साथ, म तिमीलाई सधैँ आफ्नो हृदयबाट असीम माया र आशीर्वाद दिरहनेछु— यस्तो माया जसलाई शब्दहरूले नसके मेरा आँखाहरूले व्यक्त गर्नेछन्।

सधैँ तिमीलाई माया गर्ने,

तिम्रो पिता

साभार : सामाजिक संजाल


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button