हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकाले आइतबार सार्वजनिक बिदा कार्यान्वयनगर्दै विद्यालय समायोजन गर्ने

प्रहार समाचार । तनहुँ, २२ बैशाख २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिकाले आइतबार सार्वजनिक बिदा कार्यान्वयन गर्ने र न्यून विद्यार्थी भएका विद्यालयहरूको समायोजन गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बैठकले शिक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित यी निर्णयहरू अघि सारेको छ । नगरपालिकाको २३६ औँ नगर कार्यपालिका बैठकले शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै आइतबार सार्वजनिक बिदा लागू गर्ने तथा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू समायोजन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले संघीय सरकारको निर्णयअनुसार विद्यालयहरूमा आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निष्कर्ष निकालेको हो। बैठकले विद्यार्थी संख्या शून्य वा अत्यन्त न्यून भएका विभिन्न सामुदायिक विद्यालयहरूलाई बालविकास कक्षा सञ्चालन हुने अवधिसम्म कायम राख्ने र अन्य कक्षाहरू पायक पर्ने नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको छ। यसबाट शैक्षिक स्रोतको प्रभावकारी उपयोग र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय समायोजनसँगै शिक्षक तथा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन नगर प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ। उक्त समितिले दरबन्दी मिलान तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी लिनेछ।

यसैबीच, नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट तयारीका लागि जेठ ८ गते सरोकारवालासँग परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकमा राजनीतिक दल, जनप्रतिनिधि, व्यवसायी, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। त्यसैगरी, मालपोत तथा नापी कार्यालयबाट प्रवाह हुने सेवाहरू स्थानीय तहबाटै सञ्चालन गर्न आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापनका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ। साथै बैठकले हालै दिवंगत भएका उप प्रमुख इन्दिरा दरैका श्रीमान् समाजसेवी चिजबहादुर दरै र पूर्व वडा अध्यक्ष खड्कबहादुर अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button