प्रहार समाचार । तनहुँ, २३ बैशाख २०८३ बुधबार । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा युवा व्यवसायी पविन्द्रकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको पोखरामा सम्पन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश (भूगोल) तर्फ कार्यकारिणी सदस्य पदमा विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा श्रेष्ठको जितसँगै तनहुँको निजी क्षेत्रको प्रतिनिधित्व महासंघमा थप सशक्त बन्ने अपेक्षा गरिएको छ । श्रेष्ठको विजयपछि तनहुँ उद्योग वाणिज्य संघका सभापति इमकुमार मल्ल, दमौली बजार इकाइका सभापति शेषराज श्रेष्ठ लगायत उद्योगी व्यवसायीहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै यसले जिल्लाको व्यापार–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार र निजी क्षेत्रका आवाजलाई राष्ट्रिय तहमा पुर्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नवनिर्वाचित कार्यकारिणी सदस्य श्रेष्ठले आफूलाई विश्वास गरी निर्वाचित गराएकोमा आभार व्यक्त गर्दै गण्डकी प्रदेशका उद्योगी–व्यवसायीहरुको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण र स्थानीय उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।महासंघको ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन २०८३ यहि वैशाख २१ र २२ गते पोखरामा सम्पन्न भएको थियो, जहाँ देशभरका उद्योगी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
























