हेडलाईनसमाचारप्रदेश

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको स्वीकृति

प्रहार समाचार । काठमाडौं, २२ वैशाख २०८३ मङ्गलबार। राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले पुनः सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जानकारी दिएको हो ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन आवश्यक रहेको भन्दै अध्यादेश पुनः सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठक सञ्चालन, निर्णय प्रक्रिया तथा सिफारिससम्बन्धी व्यवस्थामा केही संशोधन गरिएको जनाइएको छ । सरकारले संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया सहज, व्यवस्थित र प्रभावकारी बनाउन अध्यादेश ल्याइएको दाबी गरेको छ ।

यसअघि पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक तथा संवैधानिक बहस हुँदै आएको थियो । विपक्षी दलहरूले अध्यादेशमार्फत संवेदनशील विषय संशोधन गर्नु उपयुक्त नभएको भन्दै आलोचना गर्दै आएका छन् भने सरकारले संवैधानिक निकायहरू लामो समय रिक्त हुँदा राज्य सञ्चालनमा समस्या देखिएकाले आवश्यक कानुनी व्यवस्था गरिएको बताएको छ ।अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद्को कार्यविधिअनुसार विभिन्न संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button