हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकामाथि रास्वपाको योजना, पारदर्शिता र सुशासनको प्रश्न

प्रहार समाचार । तनहुँ, २२ बैशाख २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिकामा पछिल्ला गतिविधिहरूलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सभापति चूडामणि दाहालले विभिन्न विषयमा गम्भीर प्रश्न उठाउँदै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। संघीय सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि त्यसलाई विद्यालय तहमा समेत समायोजन गर्नुपर्ने उनको सुझाव छ।

दीर्घकालीन रूपमा बर्खे, हिउँदे तथा अन्य बिदाहरू मिलाएर कक्षा समय व्यवस्थापन गरिने अपेक्षा राख्दै उनले संघीय व्यवस्थाले स्थानीय तहको अधिकार कमजोर नभई थप मजबुत बनाउने धारणा व्यक्त गरेका छन्।फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन सोच अभाव रहेको आरोप लगाउँदै दाहालले नगरपालिकाले जग्गा खरिदलाई मात्र प्राथमिकता दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

सरकारी जमिन उपलब्ध हुँदाहुँदै अस्थायी समाधानतर्फ उन्मुख भएको भन्दै उनले तत्काल सर्वदलीय बैठक बोलाएर दिगो विकल्प खोज्न माग गरेका छन्।त्यस्तै, व्यासमा प्रस्तावित १०८ फिट अग्लो मूर्ति निर्माणका लागि विगतमा खर्च भएको बजेटबारे पनि उनले स्पष्टता माग गरेका छन्। अघिल्लो आर्थिक वर्षमा एक करोड र चालु वर्षमा तीन करोड रुपैयाँ विनियोजन भए पनि कुनै ठेक्का प्रक्रिया अघि नबढेको तथा रकम ‘फ्रिज’ भएको विषयमा जनस्तरमा चासो बढेको उनले उल्लेख गरे। प्राविधिक कारण देखाउँदै योजना अलपत्र परेको चर्चा भइरहेका बेला खर्च भइसकेको झण्डै पाँच–छ करोड रुपैयाँको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

मानुङकोट लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत बिजुली जडानको काम ढिलाइ भएको विषयमा पनि दाहालले प्रश्न गरेका छन्। ठेक्का लागिसकेको भनिए पनि काम सुरु नहुनुको कारण सार्वजनिक गर्न उनले माग गरेका छन्। साथै, मतको आधारमा शिक्षक सरुवा गरिएको भन्ने गुनासोप्रति समेत उनले ध्यानाकर्षण गराउँदै सरुवाको स्पष्ट मापदण्ड र प्रक्रिया सार्वजनिक गर्नुपर्ने बताएका छन्।समग्रमा नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राख्दै काम गर्नुपर्ने दाहालको जोड छ। आफूहरूले सबै विषयको सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उनले जनउत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुन स्थानीय सरकारलाई आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button