प्रहार समाचार । तनहुँ, २३ बैशाख २०८३ बुधबार । तनहुँको व्यास नगरपालिकामा स्थापना भएको ३४ वर्ष बितिसक्दा पनि स्थायी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसक्दा समस्या जटिल बन्दै गएको छ। अस्थायी व्यवस्थापनमै निर्भर रहँदा स्थानीय स्तरमा विवादसमेत बढ्न थालेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपाने जग्गा प्राप्तिको प्रयास भए पनि स्थानीय समुदायको विरोधले प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् । “व्यक्तिले जग्गा बिक्री गर्न चाहे पनि स्थानीयले अवरोध गर्ने गरेका छन्,” उनले भने। “काम गर्न खोज्दा विरोध मात्र हुन्छ, त्यसले समाधान दिन्छ त?” उनले प्रश्न गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले तत्काल समस्या समाधानका लागि अस्थायी स्थान प्रयोग गरिए पनि त्यो दिगो विकल्प नभएको बताए। उनका अनुसार बिसर्जन स्थल अभावकै कारण वैशाख ११ गतेदेखि फोहोर सङ्कलन ठप्प भएको थियो भने बुधबारदेखि मात्र बजार क्षेत्रको फोहोर उठाउन थालिएको हो।

व्यासका १४ वडामध्ये विशेषगरी वडा नं. १, २, ३ र ४ मा सबैभन्दा बढी फोहोर सङ्कलन हुने गर्दछ। यसअघि वडा नं. १ गल्वुबेँसीस्थित अकला कमलडिहीमा निजी जग्गा भाडामा लिएर अस्थायी रूपमा फोहोर बिसर्जन गरिँदै आएको थियो। तर त्यहाँका खाडलहरू भरिएपछि थप व्यवस्थापन असम्भव बनेको छ।

विगतमा मादी नदी किनारको भतेरी, व्यास–१३ ढुङ्गाफूटे सुँदे पुल आसपास तथा अन्य स्थानहरूमा फोहोर विसर्जन गरिँदै आए पनि स्थानीय विरोध र प्राकृतिक कारणले ती स्थानहरू क्रमशः बन्द हुँदै गएका छन्।
हाल व्यास–१२ कमलावारी तलको सुरेन्द्र अधिकारीको भिरालो जमिनमा अस्थायी रूपमा फोहोर विसर्जन सुरु गरिएको छ। तर उक्त स्थानमा पनि विवाद चुलिएको छ। स्थानीय किसानका अनुसार अनुमति बिना सुरेन्द्र अधिकारीले डोजर र एक्साभेटर प्रयोग गरी जमिन खार्दा माथिबाट आउने भलपानीले गिटी–बालुवा बगाएर ज्यामीरे खेत पुरिन थालेकाे छ ।
स्थानीय चन्द्रावती कैनीले आफ्नो गैरी खेतमा गिटी–बालुवा थुप्रिएको र पटक–पटक सुरेन्द्र अधिकारीलाई हटाउन आग्रह गर्दा पनि बेवास्ता गरेको गुनासो गरिन्। उनले वर्षायाममा फोहोरसमेत खेतमा बग्ने जोखिम रहेको बताइन्। स्थानीय नवराज पन्थीले पनि “गरिखाने खेत पुरिने अवस्था कसले सहन्छ?” भन्दै विरोध जनाए र आगामी दिनमा कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

नगरपालिकाले जग्गा प्राप्तिका लागि एक साताको सार्वजनिक सूचना जारी गर्दा पनि कुनै आवेदन नपरेको जनाएको छ। यसले वैकल्पिक स्थान खोज्ने काम थप जटिल बनेको छ। नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत लम्सालका अनुसार स्थायी समाधानका लागि प्रस्तावित जग्गा खरिद गर्न नेपाल सरकारसँग अनुमति मागिएको भए पनि हालसम्म स्वीकृति प्राप्त हुन सकेको छैन।

हाल नगरपालिकाले दैनिक सरसफाइका लागि तीन टिप्पर, चार ट्र्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ सवारी साधन परिचालन गर्दै आएको छ। तर बिसर्जन स्थल अभाव हुँदा ती सवारी साधनसमेत निष्क्रिय बन्ने अवस्था देखिएको छ।

स्थापनाकालदेखि नै प्रत्येक निर्वाचनमा उठ्ने यो मुद्दा अझै समाधान हुन नसक्दा नगरवासी समस्यामा परेका छन्। नगरपालिकाले भने उपयुक्त जग्गा पहिचान र सङ्घीय सरकारको सहमतिका लागि प्रयास जारी रहेको जनाएको छ।
























