प्रहार समाचार । कास्की, २२ वैशाख २०८३ मंगलबार । ।‘दयाशंकर पालिखे पत्रकारिता सम्मान’बाट यस वर्ष पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा स्थापना गरेको उक्त सम्मानमार्फत पत्रकारितामा दीर्घकालीन योगदान पुर्याएका उनीहरूलाई कदर गरिएको हो।

महासंघ कास्कीको गत सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै बस्नेतलाई २०८१ साल र बराललाई २०८२ सालका लागि सम्मान प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पालिखे स्मृति दिवसको अवसर पारेर पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई जनही एक लाख एक हजार एक सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरे।

करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय सूर्यचन्द्र बस्नेत हाल राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्। उनले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकजस्ता सञ्चारमाध्यममार्फत पत्रकारितामा महत्वपूर्ण योगदान दिएका छन्।

त्यसैगरी, २०५५ सालदेखि पत्रकारितामा सक्रिय कृष्णमणि बराल हाल बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकमसँग आवद्ध छन्। उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक र नेपाली टाइम्समा समेत काम गर्दै पत्रकारितामा आफ्नो अलग पहिचान स्थापित गरेका छन्। नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वयलाई समाज, राष्ट्र र लोकतन्त्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाएको छ।

























