
सम्पत्ति र सन्तानमा, मोह धेरै बढाएर।
दिन रात दु:ख गरी, छोरा छोरी पढाएर।।
बाबुआमा थला पर्दा, बेसहारा भएका छन्।
कठैबरा! रुंदै रुंदै, आश्रममा गएका छन्।।
इष्टमित्र दाजु भाइ, दिदी बैनी साथी पनी।
बल बुद्धि धन हुँदा, नजिकिने आफ्नै बनी।।
दुनियाँ यो चलेको छ, जाल झेल गरी गरी।
निमुखाले दु:ख पाए, विश्वासमा परी परी।।
मेरो भन्ने केही छैन, देह पनि मुर्दा बन्ने।
ईश्वरको अंश आत्मा, व्यर्थै हामी हाम्रो भन्ने।।
देह, आत्मा मिलेपछि, जीव बन्छ सत्य कुरा।
आत्मा बिना देह हाम्रो, माटो बन्छ गली पुरा।।
ईश्वरको नाम जपौं,पार तर्नेतिर लागौं।
हर्ने भर्ने उनै हाम्रा, उनैसँग क्षमा मागौं।।
























