विचारसबै प्रदेश

नेपालमा नवसम्भ्रान्तको उदय

दीपक राज जोशी

नेपाल भित्र र बाहिर बसोबास गर्ने नेपाली नव-सम्भ्रान्तहरूको बानी र व्यवहार विचित्रको छ।उनीहरू सार्वजनिक यातायातलाई घृणा गर्छन् ।र सदैब ठूलो गाडी किन्ने सपना देख्छन् ।हाम्रो सार्वजनिक यातायात खराब छ भनेर सामाजिक सन्जाल मार्फत गुनासो गर्न पछि पर्दैनन् । तिनै व्यक्तिहरु अरु सर्वसाधारण मानिसहरूले सार्वजनिक यातायात प्रयोग गरून् भन्ने चाहना राख्छन् । ताकि तिनीहरूले खुला सडकहरूमा आनन्दले ड्राइभिङ गर्न सकून्। जो तीन हजार डलरको डिएसएलआर लिएर सडक बालबालिका, वृद्ध महिला, साधु, स्थानीय चिया पसल, अव्यवस्थित ट्राफिकको तस्बिर खिचेर समाजिक संजालमा पोस्ट गर्न रुचाउँछन्। यति सम्म पनि गर्छन् कि ४ लाख मुल्य बराबरको घडी लगाएर त्यही हातले २० रुपैयाँको चाउचाउ बाँडेर आफुलाई समाजसेवि देखाउने होड मच्चाउँछन्।

आईओएस को र एन्ड्रोइड दुवैप्लेटफर्मको महंगो र नवीनतम २ वटा स्मार्टफोन बोकेर फोन हरायो, फोन नम्बर पठाउनु भनेर क्लाउड प्रणालीको धज्जी उडाउने हरुकाे भिडले भरिएको यो सामाजिक वर्गले अन्डरवेयर र सफ्टवेयरमा खासै भिन्नता देख्दैन।

कहिले उनीहरू आफूलाई जनावर प्रेमी हौँ भन्दै रोइलो गर्न भ्याउँछन् जबकि घरमा पालेको कुकुरलाई बजारबाट मासु किनेर खुवाउँछन् । हरेक दिन उनिहरुको डाइनीङ टेबलमा कुखुरा, माछा र खसीको मासु भएन भने उनीहरुलाई खाना रुच्दैन। मलाई शंका यो मानेमा लाग्छ कि यि जनावर प्रेमी हुन् या मासु प्रेमी?

तामसिक सोचबाट ग्रसीत भएर सात्विक समाजको मजाक बनाउँन पछि नपर्ने यो वर्ग, तीनछाक मासु खाएर, महंगो रक्सी पिएर योग, प्राणायाम र आध्यात्मिकता बारे गफ चुट्न पनि भ्याएकै हुन्छ्न।

फेरि उनिहरुमा बेलाबेला चरम देशभक्तिको भावना आउँछ। गर्वले दौरा सुरुवाल र भाद गाउँले टोपी,निदारमा टीका, रुद्राक्षको माला ढल्काएर आफूलाई फरक ढंगले प्रस्तुत गर्छन्।अझ अच्चम त तब हुन्छ जब उनीहरुनै समाज रुपान्तण गर्न पर्छ भनेर सबै राजनीतिक पार्टीको नजिक पुग्न सफल भई फाईदा लिई रहेका हुन्छ्न।

जर्जियो अर्मानीको कोट ,रोलेक्स वा Bvlgari को घडी अनि इटालियन Valentino वा A Testoni को जुत्ता , Burberry को चस्मा, Louis Vuitton को व्याग, Shumukh को अत्तर, Balmain र Brunello Cucinelli का कपड़ामा अभ्यस्त भएका उनीहरूलाई दौरा सुरावल र ढाका टोपी कुनै समय सबै भन्दा मन नपर्ने पोसाक हुन्थ्यो। तर जब देखावा गर्ने बेला आउँछ उनिहरुमा एक्कासी उर्लेर आउँछ देशभक्ति। मानौँ यो वर्षायामको खहरे हो ।

उनिहरुलाई यो थाहा हुँदैन कि उनीहरूले एक गिलास महँगो रक्सी पिउँदै गर्दा कति गाउँमा एक गिलास जीवन जल पिउन नपाएर मान्छे मरिरहन्छन्? महंगा रक्सी, आइफोन , ठूला कर्व टीबी, गरगहना, महंगा गाडी, महंगा लत्ता कपडाकाे परिपूर्तिलाई विकसित भएको ठहर लगाउने समाजमा उनिहरुलाई पनि ज्वरो आउदा खाने सिटामोल , झाडा पखाला लाग्दा पिउने जीबन जल नपाउनेको बारेमा सोच्ने फुर्सद पनि कहाँ बाट होस्।

आज आएर हाम्रो समाजको वास्तविक समस्या भनेको राजनैतीक र अति शिक्षित अभिजात वर्गको अक्षमता र पागलपन हो। बुद्धिजीवीहरू सामान्यतया अहंकारी हुन्छन्। उनीहरू आफूलाई धेरै नै महत्त्व दिन्छन्। उनीहरूलाई लाग्छ उनीहरू भन्दा विद्वान अरु कोही र केही छैन। शिक्षित हुनु भनेको अहंकारी हुनु होइन भन्ने कुरा यिनले कहिले बुझ्ने?

महंगो विद्यालय र युनिभर्सिटीले मान्छेको ब्यबहारिक पाटो सल्टाउन सक्छ या सक्दैन भन्ने कुराको वहस गर्नै नपर्ने गरी यिनको ब्यबहारमा छर्लङ्ग देखिन्छ। त्रिकोण, चारकोण, पाँचकोण – भएभरका सबै कोण पढे पनि जिन्दगीमा आफ्नो समाज र देशलाई कामलाग्ने “दृष्टिकोण” यिनको पढाईमा नअटेको कुराको प्रमाण स्वयं यिनिहरुको व्यवहार हो। यस्ता नव-सम्भ्रान्तहरू आजकाल बजारमा धेरै नै भेटिन्छन् । कतै तपाई पनि नव-सम्भ्रान्त त होईन?

यो पढदै गर्दा थोरै भए पनि रिस उठ्यो वा चित्त दुख्यो भने सम्झनु तपाईं पनि केही हद सम्म नब-सम्भ्रान्त बन्ने बाटोमा हुनुहुन्छ।

– जोशीको प्रकाशोन्मुख पुस्तक ‘नेपालमा नवसम्भ्रान्तको उदय’बाट


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button