• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २० बैशाख २०८३ आइतबार । स्थानीय तहको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका लमजुङ–काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले “मेरो पालिकाको मेयर यस्तो होस्” भन्दै जनअपेक्षालाई समेट्ने धारणा सार्वजनिक गरेका छन्। उनले पार्टी र व्यक्ति भन्दा पनि काममुखी, सेवामुखी र जिम्मेवार नेतृत्व आवश्यक रहेको स्पष्ट पारेका छन्।

शर्माका अनुसार भावी मेयर जनताको आवाज सुन्ने र निर्णय प्रक्रियामा उनीहरूलाई समेट्ने हुनुपर्छ। भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा सुनिश्चित गर्ने तथा युवालाई रोजगारी र सीप विकासतर्फ उन्मुख गराउने दूरदृष्टि भएको नेतृत्व आवश्यक रहेको उनले बताएका छन्। कृषिलाई आधुनिक र बजारमुखी बनाउने, सडक, खानेपानी र विद्युतजस्ता आधारभूत पूर्वाधारमा दिगो विकास गर्ने क्षमतासहित आपतकालीन अवस्थाहरूमा तुरुन्त प्रतिक्रिया दिन सक्ने मेयरको अपेक्षा उनले व्यक्त गरेका छन्।
उनले पारदर्शी बजेट प्रणाली लागू गर्न सक्ने हिम्मत, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति संवेदनशीलता, वातावरण संरक्षणमा सक्रियता र डिजिटल सेवा विस्तारमा जोड दिन सक्ने सोचलाई पनि नेतृत्वका अनिवार्य गुणका रूपमा औंल्याएका छन्। साथै, स्थानीय स्रोत र सम्भावनाको सही पहिचान गर्दै विकासमा उपयोग गर्ने, कर्मचारीसँग सहकार्य गरी सेवा प्रवाह छरितो बनाउने र राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समान व्यवहार गर्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

शर्माले संकटमा अग्रपंक्तिमा उभिने र उपलब्धिमा श्रेय बाँड्ने नम्र स्वभाव, योजनालाई व्यवहारमा उतार्ने क्षमता र दीर्घकालीन विकास दृष्टि भएको नेतृत्वले मात्रै स्थानीय तहलाई सही दिशामा अघि बढाउन सक्ने उल्लेख गरेका छन्। अन्ततः “पदका लागि होइन, सेवाका लागि काम गर्ने” उत्तरदायी मेयर नै जनताको वास्तविक चाहना भएको उनको निष्कर्ष छ।
























