प्रहार समाचार । काठमाडौं, ७ वैशाख २०८३ सोमबार । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीजस्तो विकट भूगोल भएको क्षेत्रमा इन्धन महँगो बनाउनु उपयुक्त नहुने बताएका हुन्।

उनले डिजेल, पेट्रोल र ग्यासको मूल्य वृद्धि गर्दा स्थानीय बासिन्दा मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत असर पर्ने उल्लेख गरे।उनले छिमेकी भारत ले इन्धनमा मूल्य नबढाएको उदाहरण दिँदै नेपाल सरकारले नागरिकमाथिको आर्थिक भार कम गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने धारणा राखे।अध्यक्ष घिसिङले दुई तिहाइ बहुमतको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो दलले सहयोग गर्ने पनि स्पष्ट पारे। साथै, नेपाल विद्युत् प्राधिकरण को नेतृत्व सम्हाल्दा कर्णाली क्षेत्रको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको जानकारी दिए।

उनका अनुसार १ सय ३२ केभी प्रसारण लाइन विस्तारको काम जुम्लासम्म अघि बढिरहेको छ। पार्टी गठनपछिको छोटो अवधिमा संगठन सुदृढ गर्न नपाउँदै निर्वाचनमा जानुपरेकाले अपेक्षित नतिजा नआए पनि आगामी चुनावमा उनेपा बलियो शक्ति बनेर उदाउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनले विश्वास व्यक्त गरे।



























