हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकामा बजेट कार्यान्वयन कमजोर, पूँजीगत खर्च २६ प्रतिशतमा सीमित

प्रहार समाचार । तनहुँ,७ बैशाख २०८३ सोमबार । तनहुँको व्यास नगरपालिकाको २ सय ३५ औँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष ०८२/०८३ को बजेट कार्यान्वयन अपेक्षाभन्दा कमजोर देखिएको निष्कर्ष निकालेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले कुल अनुमानित बजेट १ अर्ब ७२ करोड ५२ लाख ४ हजार ५ सयमध्ये हालसम्म जम्मा ८१ करोड ११ लाख ९८ हजार ६०५ रुपैयाँ (४७.०२%) मात्र खर्च भएको तथ्य सार्वजनिक गरेको छ।

उप प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्षहात, कार्यपालिकाका सदस्यहरू लगायतको उपस्थितिमा भएको बैठकले अधिकृत संघ, प्रदेश, आन्तरिक आय तथा सञ्चित कोषबाट र १ अर्ब ६ करोड ८१ लाख ९३ हजार ३० रुपैयाँ (६१%) मात्र आम्दानी भएको अवस्थाले बजेट कार्यान्वयन र स्रोत परिचालन दुबैमा चुनौती देखिएको निष्कर्ष निकालिएको छ।तथ्याङ्कअनुसार चालु खर्चतर्फ ९५ करोड २२ लाख २४ हजारको लक्ष्य रहेकामा रु ६० करोड ६९ लाख ६७ हजार २९० रुपैयाँ (६३.४७%) खर्च भएको छ भने पूँजीगत खर्चतर्फ ७७ करोड २९ लाख ८० हजार ५ सयमध्ये मात्र २० करोड ४२ लाख ३१ हजार ३०४ रुपैयाँ (२६.४२%) खर्च भएको देखिन्छ। यसले विकास निर्माणसम्बन्धी योजनाहरू कार्यान्वयनमा ढिलाइ भएको संकेत गरेको छ। आन्तरिक आयतर्फ २५ करोड ८ लाख ५५ हजार ६५५ रुपैयाँ लक्ष्य राखिए पनि चैत्र मसान्तसम्म ११ करोड ३८ लाख १३ हजार १८ रुपैयाँ (४५.३७%) मात्र उठ्न सकेको छ। यद्यपि सरसफाइ व्यवस्थापन अन्तर्गत फोहोरजन्य सामग्री बिक्रीबाट १९ लाख ६९ हजार ८१८ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ ।

बैठकले यस्तो अवस्थाको गम्भीर समीक्षा गर्दै आगामी दिनमा पूँजीगत खर्च बढाउने, योजनाहरू समयमै सम्पन्न गर्ने तथा आन्तरिक आय अभिवृद्धिमा जोड दिने निष्कर्ष निकालेको छ। साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै बजेट कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न सम्बन्धित शाखा र निकायलाई सक्रिय बनाउने निर्णय गरिएको छ। साथै, बैठकले वडा नं. १४ मा एकीकृत घुम्ती शिविर सञ्चालन, शिक्षक दरबन्दी मिलानका लागि समिति गठन तथा आगामी आर्थिक वर्षका लागि कार्यसम्पादनमा आधारित बजेट तर्जुमा मापदण्ड पारित गर्ने निर्णयसमेत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button