प्रहार समाचार । काठमाडौं, ९ वैशाख २०८३ बुधबार । सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन्। स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्। गुरूङले मन्त्री भएको एक महिना नबित्दै राजीनामा दिएका हुन्। उनले चैत १३ गते शपथ लिएका थिए।उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्:म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।

आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदी हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ। सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अनुत्तरित थिए।



























