प्रहार समाचार । तनहुँ, ९ वैशाख २०८३ बुधबार । तनहुँका एसपी टेकबहादुर कार्कीले एआईजी सुशील सिंह राठौरको स्वागत गर्दै जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे जानकारी गराएका छन् । चौथो अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना (CAP IV) अन्तर्गत दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षणका लागि राठोर आज दमौली आएका थिए ।

त्यस क्रममा एआईजी राठौरले अपराध अनुसन्धान शाखा, हिरासत कक्ष तथा कार्यरत प्रहरी कर्मचारीहरूको कामको अवस्था अवलोकन गर्दै अनुसन्धान प्रक्रियालाई अझ प्रविधिमैत्री, तथ्यमा आधारित र छिटोछरितो बनाउनुपर्नेमा जोड दिए। उनले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता सँगसँगै समुदायसँगको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै जनविश्वास कायम राख्न विशेष ध्यान दिन निर्देशन दिए।त्यसै अवसरमा उनले हिरासत व्यवस्थापनलाई मानवअधिकारमैत्री बनाउन, अनुसन्धान कार्यमा पारदर्शिता कायम गर्न तथा कानुनी प्रक्रिया अनुसार द्रुत न्याय सुनिश्चित गर्न प्रहरी कर्मचारीहरूलाई सचेत गराएका थिए।

अपराधका बदलिँदा स्वरूपअनुसार अनुसन्धान क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराधको प्रकृति तथा नियन्त्रणका लागि अपनाइएका रणनीतिहरूबारे जानकारी गराउँदै प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

उनले उच्च तहबाट प्राप्त निर्देशनले आगामी कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उक्त अनुगमन तथा निर्देशनले तनहुँमा अपराध नियन्त्रण र अनुसन्धान कार्यलाई अझ व्यवस्थित, जिम्मेवार र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।



























