हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको दुम्सीबजारमा ‘व्यास नगर अस्पताल’ तयार : स्थानीय स्तरमै उपचार पहुँच विस्तार

प्रहार समाचार । तनहुँ, ९ बैशाख २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० दुम्सीबजारमा ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएसँगै अब स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमै आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा पाउने भएका छन् । १५ शय्याको क्षमतासहित तयार गरिएको अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुलभ र छरितो उपचार सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

अस्पताल भवन उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने विषयमा जोड दिए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा पनि ध्यान दिने जानकारी दिए ।

संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले स्थानीय तहबाट स्वास्थ्य पूर्वाधार निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्नेमा जोड दिए ।

उपप्रमुख इन्दिरा दरैले महिलासहित सबै नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

२०७७ सालमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास गरिएको उक्त अस्पताल अब पूर्ण रूपमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा व्यास नगर शिक्षा अधिकारी केदारराज आचार्य, नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, महाधिवेशन प्रतिनिधि हरि प्रसाद मिश्र, बोक्सेगैरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम सुवेदी, चिन्तुटार टोलका तारापति पौडेल, शिवालय आमा समूहकी अध्यक्ष विष्णु लामिछाने, दुम्सी सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल, शिव माविका प्रअ रामप्रसाद सापकोटा, नेका वडा नम्बर १० का सभापति प्रेमराज मिश्र, समाजसेवी दयाराम शर्मा लगायतले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा. राजु पौडेलले अस्पताल भवन ९६ लाख ३८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको तथा उपकरणसहित कुल २ करोड ६६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कम्पाउण्ड निर्माणको काम भने अझै केही बाँकी रहेको उनले उल्लेख गरे ।

अस्पतालका प्रमुख मेडिकल अधिकृत नविना न्यौपानेले स्थानीय स्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घट्ने बताउँदै सेवा प्रभावकारितामा जोड दिइन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जान लागेकी न्यौपानेलाई सोही अवसरमा सम्मानपत्रसहित विदाइ गरिएको थियो ।

अस्पताल निर्माणमा सहयोग गर्ने क्लब, टोल विकास संस्था तथा आमा समूहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य रनसिंड नेपाली तथा वडा नम्बर १० का वडा अध्यक्ष खेमराज पोखरेलले अस्पताललाई दिगो र नागरिकमुखी बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको बताए ।


अस्पताल निर्माण समितिका अध्यक्ष तथा व्यास–१० का निर्वर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँ अस्पताल सञ्चालनसँगै अब ग्रामीण भेगका नागरिकले आफ्नै ठाउँमा सहज उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button