प्रहार समाचार । काठमाडौं, ९ बैशाख २०८३ बुधबार । गृहमन्त्री सुधन गुरुङले पदमा रहँदा उठेका विवाद र जनचासोलाई मध्यनजर गर्दै राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा आफूले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गर्दै अब निष्पक्ष छानबिनका लागि पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।

गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विषयमा नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको जनाउँदै पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको धारणा व्यक्त गरेका छन्। पछिल्ला दिनमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाजले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको उनले उल्लेख गरेका छन्।
उनले सरकारमाथि उठ्ने प्रश्नको उत्तर नैतिक आचरणबाट दिनुपर्ने भन्दै आफ्नो राजीनामालाई जिम्मेवारीपूर्ण कदमको रूपमा प्रस्तुत गरेका छन्। साथै सञ्चारकर्मी, नागरिक समाज र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गर्दै सार्वजनिक जीवनमा पारदर्शिता कायम गर्न सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्।



























