प्रहार समाचार । तनहुँ, ९ बैशाख २०८३ बुधबार । दूरदराजका नागरिकलाई सेवा लिन नगरपालिका धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरले केशवटारका बासिन्दामा नयाँ भरोसा जगाएको छ। मंगलबार वडा नम्बर १४ मा आयोजित शिविरले “सरकार जनताकै ढोकामा” भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ।

उक्त शिविरमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै स्थानीय तहको प्रमुख दायित्व नागरिकलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउनु रहेको उल्लेख गरे। उनले विकाससँगै सेवाको पहुँच विस्तार अपरिहार्य रहेकोमा जोड दिँदै गाउँ–गाउँमै पुगेर सेवा दिनु नै नगरपालिकाको दायित्व रहेको उल्लेख गरे । नगर प्रमुख न्यौपानेले नगरबासीलाई घरआँगनमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यले यस्ता शिविरलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे ।

उपप्रमुख इन्दिरा दरैले नागरिकको दैनिकी सहज बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै महिला, ज्येष्ठ नागरिक र पहुँचबाट टाढा रहेका समुदायलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

वडा नम्बर १४ का कार्यबाहक वडा अध्यक्ष दुर्गा बहादुर आलेका अनुसार शिविरमार्फत कृषि सेवा तर्फ १ सय ६५ जना, भेटेरीनरी सेवा तर्फ ८५ जना, राष्ट्रिय परिचयपत्र वितरण ८ जना र २१ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको छ। उनले स्थानीयको सक्रिय सहभागिताले कार्यक्रम सफल बनेको उल्लेख गरे।
शिविरमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा, स्वास्थ्य परीक्षण, पशु सेवा, महिला तथा बालबालिका सम्बन्धी परामर्श, राजस्व संकलन लगायतका विविध सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख रामचन्द्र हड्खलेले गरेका थिए। सेवा पाउँदा स्थानीयवासीहरू खुसी देखिन्थे। उनीहरूका अनुसार यस किसिमका कार्यक्रमले समय, खर्च र झन्झट घटाउनुका साथै सरकारप्रतिको विश्वास अझ मजबुत बनाएको छ। सरकारले जब जनताको ढोकामा पुगेर सेवा दिन्छ, तब मात्र विकासको अनुभूति वास्तविक हुन्छ। व्यास नगरपालिकाको यो प्रयासले अन्य स्थानीय तहलाई पनि नागरिकमैत्री सेवा विस्तारतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।



























