विषय प्रवेश
सेनकालीन इतिहाँस सङ्ग जोडिएको बन्दिपुरको मुकुन्देश्वरीडाँडा अबलोकन गर्न जाने निधो गरियो । मुकुन्देश्वरीडाँडा बन्दिपुर गाउँपालिका वडा नं. २ मा पर्दछ । पहाडकी रानी भनेर चिनिने बन्दिपुरको मुकुन्देश्वरी डाँडाको हाइकिङमा सहभागिता जनाउन साविक बन्दिपुर हाल दमौली निवासी श्रीप्रसाद भट्टराई, बन्दिपुरकै सुकबहादुर आले बि.क. र बन्दिपुर गाउँपालिकाका बर्तमा अध्यक्ष सुरेन्द्रबहादुर थापा र मुच्चोकका दाजु सुकुमलाल गुरुङ सहभागी हुने निश्चय भयो । श्रीप्रसादजी र म जिल्ला प्रशासनचोक स्थित इन्दु मैयाँको होटलमा बिहानको ७ बजे चिया पिएर बसबाट डुम्रे गइयो । डुम्रेमा बन्देकामीका वंशधर सुकबहादुर आले बि.क सङ्ग भेट भयो । बिहानको समयमा बस नपाइने भएकाले रु ६००।- को भाडामा कारबाट बन्दिपुरको यात्रा तय गरियो । बन्दिपुर पुगे पछि बन्दिपुर गाउँपालिकाको अध्यक्ष सुरेन्द्र बहादुर थापा सङ्ग भेट भयो । भेट पश्चात बिहानको १० बजेतिर मुच्चोक जाने तय भयो । मुच्चोकसम्म कारमै जाउँ भन्दा साथीहरुले पैदले जाने मन्साय राख्नु भयो । पैदल जाँदा बाटोमा गफ गर्न मिल्ने साथी भए पछि म पनि खुसै नै भएँ । कुराकानी गर्दा गर्दै बन्दिपुरबाट हामी मुच्चोक पुगी सकेछौं । मुच्चोकमा सुकुमलाल गरुङ र रेशम गुरुङसङ्ग उहाँहरुकै घरमा भेट भयो । सुकुमजीको घरमा विवाहको कार्यक्रम भएकाले मुकुन्देश्वरी जाने सम्भावना भएन । भ्रमणदलका चारै जना सदस्यहरु बिस्तारै उकालो लागियो । उकाले लाग्ने बेलामा मुच्चुक निवासी एक जना महिलाले जङ्गलमा बाघ भालु भेटिने सकिने हुँदा सचेत रहन सुझाव दिनु भयो । सुझावलाइ मध्य नजर गर्दै हासियारी पूर्वक उकाले लागियो । ८० वर्षिय सुकबहादुर आले बि.क.संगै उकालोबाटो हिंड्दा करिव एक घण्टा लाग्यो । आधा आधी मात्र सिंढी बाटो र बाकी गाइखुरे बाटो हिंडियो । पटक पटक मकुन्देश्वरी पुगी सक्नु भएका बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मुकुन्देश्वरी मन्दिरसम्म जाने बाटो सहजीकरण गर्नु भयो भने नयाँ र पुराना गफहरु गरेर सुकबहादुरजीले हामी उकालो बाटो पैदल हिंडिरहेका छौ भन्ने अनुभूति हुनै दिएनन् । अन्त्यमा हामी गन्तव्यमा पुगियो । निलो आकाश मुनी ४७० वर्ष अघि उन्नतिको शिखरमा पुगेको वैभव र समृद्धियुक्त मुकुन्देश्वरी डाँडामा अहिले मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरवार, चैतेदसैं मेलामा आउने भक्तहरु बस्ने जस्ताले छाएको विश्राम पाटी, मुकुन्देश्वरी मन्दिर, मुकुन्दसेनकालीन पुरातात्विक महत्वको शिव—तरवार लगायतका अन्य तरवारहरु, सिमेभूमे थानको संरक्षण तथा प्रवद्र्धन हुन नसक्दा अहिले जङ्गलमा र झाडीमा परिणत भएको तत्कालीन सैनिक टुंडिखेल, सैनिकहरु बस्न मिल्ने गुफा, घोडा तबेलाहरु देख्ने सुअवसर मिल्यो ।
त्यही वैभवशाली डाँडामा अवस्थित टुंडिखेलमा मुकुन्दसेनले आफ्नो सेनालाई परेड खेलाए । कुनै बेलाको राजाको रजस्थल अहिले बाघभालु लगायतका जङ्गली जनावर बस्ने जङ्गलमा रुपान्तरित हुन पुगेको छ । यही गतिले निरन्तरता पायो भने केही वर्षमा मुकुन्देश्वरी क्षेत्रको पहिचान समाप्त हुने गरी इतिहासको गर्भमा विलिन नहोला भन्न सकिन्न । पुरानो गौरव र पौरख फर्काउन स्थानीय गाउँपालिका एवं स्थानीय जनताको पनि उत्तिकै जिम्मेवारी देखिन्छन् ।
अहिले त्यही मुकुन्देश्वरी पर्वतको शिखरमा पुगेपछि धौलागिरी , अन्नापुर्णा, बौद्ध हिमश्रृङखला लगायतका हिमालहरु, वरचुली कास्कीकोट पाल्पा , गोरखा, तनहुँसुर छिम्केश्वरी महाभारत पर्वत श्रृङखला र चितवनका चुरेपर्वत श्रृखला र त्यहाँका हराभरा तथा मलिला फाँटहरु एकसाथ अबलोकन गर्न पाइयो । प्राकृतिक सौन्दर्यले भरीपूर्ण मुकुन्देश्वरी (मुकुन्दपुर)मा पानीको सहज आपूर्ति होस भन्नाको लागि पहाडको शिखरमा सात फिट भन्दा गहिरो इनार खनेको भेटियो । दरवार क्षेत्रको वरिपरीमा इनार खन्ने सेन राजाहरुको आफ्नै विशेषता हो । बन्दिपुरको मुकुन्देश्वरी डाँडामा पनि त्यस्तै देखियो । इनारको पानीले जनताको पानीको आपूर्ति सहज भएन । पानीको समस्या ठूलो भएकाले यहाँको बसाइले स्थायित्व पाउन सकेन । यहाँको रजस्थल तनहुँसुरमा र मुकाम रजस्थल पुरानकोट ( गुरुङ्चे डाँडो ) मा सारियो । अहिले त्यही मुकुन्दपुरलाई मुकुन्देश्वरी महाभारत पर्वत श्रृङखला भनेर चिन्ने गरिन्छ । वि.संं १९३६देखि नै तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले निर्बु र चन्द्रकोटलाई तनहुँको मुकाम रजस्थल बनाएका थिए । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा बडादसैंमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्तसेनले बन्देकामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भएको विश्वास गरिन्छ । त्यही तरवारलाई हाल बन्देथोकमा स्थापना गरी पूजाआजा गरिंदै आएको छ ।

पाल्पाका राजा मुकुन्दसेन र मुकुन्दपुर बारे भेटिएका किंबदन्ती
पाल्पाका राजा रुद्रसेनको जेठी महरानी आसनमालको कोखबाट वि.सं. १५५५ मा जन्मेका मुकुन्दसेको जन्मभएको थियो । मुकुन्दसेको शिक्षा दिक्षा बाा रुद्रसेन र भट्टराइ थर गुरुबाट दरवारमा नै भएको थियो । उनी संस्कृत ,अस, मगरर अवधी भाष विशेक्ष् दखल राख्दथे । १० वर्षको उमेर देखि राजकाजमा रुचि राखेका मुकुन्दसेनले आफ्नो बलबुतामा पाल्पा राज्यलाई विशाल बनाएका थिए । पाल्पा राज्यको पहाड खण्ड भन्दा तराइ खण्ड बृहत फैलिएको थियो । गोपिनाथ शर्माको चौवीसी राज्यको इतिहास अनुसार पाल्पा राज्य पूर्वमा भारतको जालपाइगुडी पूर्णिमा , पश्चिममा कुमाउँ, उत्तर मुक्तिक्षेत्र र दक्षिणमा गङ्गानदी सम्म फैलिएको थियो तर गण्डकी महात्म्यम अनुसार मुकुन्दसेनको पाल्पा राज्यको सिमाना पूर्वमा वराहक्षेत्रको अन्त्यसम्म (भारतको जलपाइगुडी ) पश्चिममा रुरुक्षेत्र , उत्तरमा मुक्तिक्षेत्र र दक्षिणमा हरिहर क्षेत्र ( गङ्गा किनार मुजफरपुर र छपरा जिल्ला) सम्म फैलिएको पाउँदछौं । पर्वतका बादशाह मानिने मुकुन्दसेनले महाभारत पर्वत श्रृङखलाका जङ्गल क्षेत्र आवाद गर्न लगाए । यसरी आवाद भएका क्षेत्रमा तनहुँका बन्दिपुर सिञ्च्याङ गढी क्षेत्र पर्दथे । मादी पूर्वको क्षेत्र मुकुन्दपुर (हाल —मुकुन्देश्वरी), नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अवस्थित हालको १० र १३ नं वडा साविकमा मुकुन्दपुर गाउँपालिकाको नामले सुशोभित छन् भने चितवनको राप्तीपूर्वको क्षेत्र मुकुन्दपुर, माकन्दपुर मोकानपुर हुँदै हाल मकवानपुर नामले प्रसिद्ध हुन पुगेको छ ।

मुकुन्दसेनका छोराहरुको राजा बन्ने बढदो महत्वकाँक्षाका कारण तत्कालीन बिशाल पाल्पा राज्य केन्द्रीकृत रहने सम्भावना पनि थिएन । राजा मुकुन्दसेनले आफ्नो विशाल राज्यलाई पाल्पा केन्द्रमानी संघीय शासन प्रणालीमा जोड दिंदै पाल्पा ,बुटवल, राजपुर , तनहुँ रिसिङ, मकवानपुर र मदरिया समेत सात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । मकवानपुर पूर्वको भूमि लोहाङ्ग सेनले पाल्पाको अधीनमा ल्याएका हुनाले मकवानपुर क्षेत्रका प्रशासकमा लोहाङ्ग सेनलाई नियुक्त गरेका थिए । यसैगरी हालको तनहुँ र चितवन खण्डका प्रशासकमा भृङ्रगी सेन , रिसिङमा रामसेन र रामसेनको मरणोपरान्त हम्वीरसेन, राजपुरमा कुवेर सेन (अर्जुनसेन) , मदरियामा खड्गसेन , बुटवलमा विनायक सेन र पाल्मामा माणिक्य सेनलहरुलाई स्थानीय प्रशासकमा नियुक्त गरेका थिए । बेलाबेलामा रानी सुवर्णमालाको माइती पार्कोट ( हालको साभुङ स्थित पूर्कोट ?) आउने जाने गर्दथे । छोराहरुलाई प्रशासक बनाए पछि छोराहरुले चलाएको शासन व्यवस्था हेर्न राजा मुकुन्दसेन राजर्षि भेषमा विभिन्न विभिन्न तीर्थस्थलहरुको भ्रमण गर्न थाले । तीर्थ जाने क्रममै मणिमुकुन्द सेनले शिववाणी सुनेका थिए र उनले भगवान शिवबाट शिव—तरवार प्राप्त गरेका थिए । उक्त तरवार बन्दिपुरको मन्दिरमा (मुकुन्देश्वरी ?) अद्यापि रहेको छ ।( श्रोत मुकुन्दसेन प्रथम र मुकन्दस सेन द्वितीय — पुष्कर अथक रेग्मी—नेपाली साहित्यघर २०८० कार्तिक १२ )। सेनले कहिले रिडी , कहिले रामपुर केलादीघाट , कहिले घुमौरीघाट , कहिले ऋष्यऋङ कुवा , कहिले व्यास प्रयाग , कहिले छाव्दी वाराही , कहिले विन्धवासिनी, कहिले तनहँुसुर कहिले छिम्केश्वरी , कहिले साराङबाट, कहिले देवघाट, कहिले शिवघाट ,कहिले त्रिवेणीधाम , कहिले सोमेश्वर र कहिले मकवानपुर लगायतका गढीहरुमा पुग्दथे ।
भ्रमणकै क्रममा एक दिन राजा मुकुन्दसेन घुम्दै घुम्दै पूर्वि मुकुन्दपुरको बेसी झप्रि पुगे । झप्रिमा गुरु खलकका सन्तान भट्टराई थरका ब्राह्मण र ब्राह्मणीहरु बस्दथे । राम्रा र सुन्दर राजषर््िा महाराजलाई ब्राह्मणीले ७ थरीका मिष्ठान्न भोजन बनाएर पाहुनालाई खान बोलाइन । थरी थरीका खाना देखेर पाहुना पनि मक्ख भए । राजा मुकुन्दसेनले दालभात तरकारी, अचार, माछा, मास, दूध दहीको भोजन एकै ठाउँमा मोलेर खाए रे । राजाले सबै खाना एकै ठाउँमा मोलेर खाएको ब्राहम्णीलाई मन परेन । त्यही बेला आफ्ना ब्राह्मणलाई राज्यको सबै अधिकार पाएर पनि आफै शासन नगरेर अरुको विश्वासमा काम गर्ने तर शासन चलाउन नजान्ने कस्तो राजा मुकुन्द सेन जस्तो पाहुना रहेछ भनिन रे ! बाहिर पिंढीमा बसेर बाहुनीका कुरा सुनेका राजा मुकुन्दसेनलाई बाहुनीको बोलीले लज्जा एवं हीनतवोध गरायो । जनतालाई सरल र सहज बनोस भनेर पाल्पालाई केन्द्रमानी गरेको संघिय शासन व्यवस्था जनताको हितमा भएको नदेख्दा आफ्नो तरवारलाई भट्राई थरकी बाहुनीको घरको पालीमा सिउरेर राजा मुकुन्दसेन रातैमा सराङघाट ,सिञ्चाङगढी, घण्टाचुली हुँदै देवघाट पुगे । आफ्नो अन्तिम समयमा राजा मुकुन्दसेन राजनीतिबाट अलग भएर देवघाटमा तपस्वी भएर बसेका थिए । जीवनको अन्त्यको घडीमा राजर्षि महाराजले कालीगण्डकीमा जलसमाधी लिए । यहीकारण तपस्वी मुकुन्दसेन फेरी बन्दिपुर कहिल्यै फर्केनन् । पालीमा सिउरेर राखेको तरावारलाई बाहुनीले सन्दुसमा हिफाजत साथ राखेकी थिइन । त्यसको केही समय पछि सन्दुस भित्र राखेको तरवार काँप्न थाल्यो । बिस्तारै बाहुनीको घर पनि काँप्न थाल्यो । घरमा परिवारका सदस्यहरुमा झैभगडा बढदै गयो घरका गाइबस्तुहरु विरामी पर्दै गए । एकातिर अनिष्ट हुँदै गएको र अर्कोतर्फ घर किन काँप्यो भनेर आलेथरको मगरलाई झाँक्री बोलाएर जोखना हेराइयो । जोखना पश्चात झाँक्रीले यो घरमा बाहिरका कुनै मानिसको नासो राखेको चिज हुनु पर्छ भने । ब्राह्मणीले झट्ट सम्झेर कपडाले बेरेर राखेको तरवार देखाइन । सन्दुस भित्र राखिएको खड्ग (तरवार) हेर्दा खड्गले खड्गको धार तर्फको टुप्पोले टेकेर उभिएको र थरथरी काँपि रहेको पाए । झाँक्रीले उक्त तरवारमा देवी चढेकी हुनाले घर काँपेको र अपसकुन भएको बताए ।कामेको खड्गदेवीको पूजाआजा गरेमा शान्त हुन्छ भन्दै सन्दुसबाट खड्गलाई बाहिर झिक्न खोज्दा अचानक तरवार नाग बनेर अझ बेजोडले थरथर काँपि रह्यो । अनेक उपाय गर्दा पनि नागले सन्दुस छोडेन । सुन्दुस भित्रै नाग नाच्नथाल्यो रे । भांक्रीले खड्ग नै देवता हो भनेर ठोकुवा ग¥यो । तत्कालै झाँक्रीले तान्त्रिक विधिले पूजापाठ गरेर अक्षता छर्के पछि पछि नागले तरवारको रुपधारण ग¥यो । सबैमा खुसी छायो । कपडाले बेरेर सन्दुस भित्र राखिएको उक्त तरवारलाई झाँक्री स्वयंले आफ्नो काँधमा बोकेर मुकुन्दपुरको डाँडामा लगेर स्थापना गरी पूजा गरेको हुनाले तरवारले काँप्न छोडेको र उक्त शक्ति स्वरुपा खड्गदेवीलाई आजकल मुकुन्देश्वरी देवी भन्न थालिएको हो भन्ने विषयमा मुच्चोक निवासी जनताहरु एक्यैमत रहेको पाइयो । पाल्पाका राजा मणिमुकुन्दसेनको तरवार राखिएको बन्दिपुरको मुच्चोकडाँडालाई आजकल मुकुन्देश्वरी र तलको गाउँको नाम मुकुन्दचोक शब्दको आदि अक्षरमा चोक शब्दसंयोजन गरेर संक्षेपमा मुच्चोेक भन्ने गरिएको हो । मुच्चोकको डाँडामा रहेको मुकुन्देश्वरीमाई(खड्गदेवी)लाई दर्शन र भाकाल अनुसार पूजापाठ गरियो भने मनले आँटेताकेको कार्य सिद्धि हुन्छ भन्ने जनविश्वास रहेको कुरा मुच्चोक निवासी सुकुमलाल गुरुङले बताउनु भयो ।
जीवनको उत्तरार्धमा राजा मुकुन्दसेनले वि.सं.१६१०मा देवघाट पुगेर तपस्या गरे । राजषर््िामहारज मुकुन्दसेन तपश्वी बने पछि उनका प्रिय भाइ छोरा, भतिजहरु आपस आपसमा कलह गर्न थाल । पाल्पाको केन्द्रीय शासन प्रणली कमजोर हुन पुग्यो ।राजा मुकुन्दसेनका जीवनकालमै सबै प्रशासकहरुले पाल्पाबाट विशाल पाल्पा राज्यबाट स्वतन्त्र हुने निधो गरे । अन्ततः पाल्पाका सातै प्रशासनिक क्षेत्रका भाइ, छोरा र भतिज समेतका प्रशासकहरुबाट आफु शासित पूदेशलाई पाल्पा राज्यमा विभाजन भएको घोषणा गरे । मुकुन्दसेनमा वैराग्यले छोयो । राजनीतिबाट सन्यास लिए । यसैगरी भृङ्गीसेनको मरणोपरान्त तनहुँको उत्तर भागमा अवस्थित मिर्लुङकोट र रापती पारीको मकवानपुर पनि भाइ अँशमा विभाजन हुँदै जाँदा मकवानपुर, विजयपुर र चौदण्डी राज्यमा विभाजन हुन पुगेका थिए । यसरी सातवटा सेन राज्यहरु टुक्रिंदै टुक्रिंदै १० वटा सेनराज्यहरु बन्न पुगेका थिए ।
अन्ततः वि.सं. १६२२को अन्त्यतिर तपश्वी मुकुन्दसेनले जलसमाधी लिने विचार गरे । मुकुन्द सेनको मरणोपरान्त राजाको इच्छानुसार राजाको लाशलाई कालीगण्डकीको ढुङ्गामा बेरेर नदीमा जलसमाधी गरियो । जलसमाधी लिएका राजा मुकुन्दसेन शालिग्राम बनेर काली गण्डकीमा नै रहेका थिए । कुनै एकपटक देवघाटकै जलारी बोटेले देवघाट स्थित कालीगण्डकी र त्रिशुली गण्डकीको दोभानमा पटक पटक जालहान्दा अपूर्व निलो शालिग्राम मात्र जालमा परिरह्यो । एकोहोरो निलो शालीग्राम मात्र जालमा परिरहेकाले पक्कै इश्वरीय कृपा हो भनेर देवघाटको पश्चिम तर्फको माथि चौर ल्याएर शिलालाई स्थापना गरियो । निलो शालिग्राम स्थापना गरेका दिन देखि बोटेको आर्थिक र सामाजिक समृद्धि हुँदै गयो । अहिले उनै मुकुन्दसेन निल शालिग्राम बनेका हुन भन्ने आम जनमानसमा पूर्ण विश्वास रहेको छ । त्यही शिलालाई आजकल देवघाटमा मणीमुकुन्दसेनको स्वरुपमानी चक्रशिला नाम दिइएको छ । पल्पा दरवार तनहुँसुर दरवारले मुकुन्देश्वर महादेवको नित्य पूजा गर्न चलाएको परम्परा अद्यापि नेपाल सरकारले निरन्तर चलाइ रहेको पाउँदछौं ।
-मुकुन्दसेनको मुकाम रजस्थल मुकुन्दपुरहरु :
वि.सं. १५७५ देखि १६१० सम्म पाल्पा राज्य गरेका राजा मुकन्दसेन वि.सं. १५८१, १५८२, १५८३ सालमा पाल्पाबाट काठमाण्डौ उपत्यका हान्न जाँदा होस या आफ्ना राज्यका तीर्थस्थलहरुमा भ्रमण गर्न जाँदा पूर्वतर्फको पहिलो मुकाम रजस्थल पश्चिम मुकुन्दपुर रहने गर्दथ्यो । पाल्पाका राजा मुकुन्दसेन पाल्पाको रामपुर गजरकोट, घिरिङ रिसिङ ,रामजाकोट, दमौलीघाट (व्यास प्रयाग) , केशवटार , रामकोट हुँदै मुकुन्दपुर आउने गर्दथे । पश्चिम मुकुन्दपुर क्षेत्रमा आवादि क्षेत्र भन्दा बढी घनाजङ्गल रहेको थियो । घनाजङ्गल भएकै कारण यो ठाउँ सिकारको लागि उत्तम मानिन्थ्यो यही बाटो भएर मुकुन्दसेन सिञ्च्याङगढी, घण्टाचुली, सोमेश्वरगढी हुँदै मुकुन्दपुर (मकवानपुर) गढी पुग्दथे । चितवनको चारकोशे झाडी अर्को प्रसिद्ध सिकारक्षेत्र मानिन्थ्यो ।
– भौगलिक अवस्था :
बन्दिपुर समुन्द्रसतह देखि ११०० मिटिको उचाइमा रहेको छ भने मुकुन्देश्वरी पर्वत १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट माछापुच्छ्र्रे हिमाल, अन्नपूर्ण हिमश्रृङखला बौद्ध हिमाल, तनहुँ लमजुङ चितवनका छिम्केश्वरी,बरचुली मनकामना ,चितवनका समथर मैदान लगायतका प्राकृतिक दृष्यहरुको अबलोकन गर्न सकिन्छ । सवारीसाधन चलाउनेहरु र युद्ध सामाग्रीहरु निर्माण कार्यको कल्पना गर्ने र बनाउन चाहनेहरुले बन्दिपुरको खड्गमाईको दर्शन गरेमा खड्गदेवीको शुभआशिष मिल्ने जनविश्वास रही आएको छ । तनहुँसुरको तोप र तरवार बनाउने बन्देकामी यहीआएर पूजा आरधना गरेका थिए । महत्वपूर्ण खड्गमाई मन्दिरमा पूजा व्यवस्थित हुन नसके पछि पुन बन्देथोकमा बन्देकामीले बनाएको तरवारमा खड्गमाई चढेकी हुन भने यहाँको जनविश्वास रही आएको छ । गण्डकी प्रदेशकै पहाडकी रानी भनेर चिनिने बन्दिपुरमा मुकुन्देश्वरी डाँडा संगै यहाँका पुरातात्विक महत्वका स्थानहरुमा बन्दिपुरका खड्गमाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, थानीमाइ मन्दिर, पुरानकोट,सैनिक टुंडिखेल, गुरुङ्रचे डाँडादेखि मुकुन्देश्वरी जाने १६०० मिटर लम्बाइको मिनीग्रेटवाल, तीनधारा , चन्द्रकोट गढी , हुस्लाङकोट र सारङघाटलाइ पर्यटकीय स्थल बनाउन सकिने रहेछ भन्ने महसुस गरियो । माथि उल्लेखित स्थानहरुले पर्यटकहरुलाई बन्दिपुरमा थप अवधि राख्न सकिने विश्वास लिइएको छ ।
-पर्यटन पूर्वाधारका कुरा :
पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गरे पछि भक्तपुर र कीर्तिपुरबाट पलायन भएका नेवारहरु तार्कुघाटबाट मस्र्याङदीको कोरीडोर झर्दै आएर बन्दिपुरलाई समृद्ध व्यापारिक नाकाको रुपमा विकास गरेका हुन् । कास्की तनहुँ लमजुङ र धादिङको तराइ प्रवेश गर्ने नाका नै बन्दिपुर बन्न पुग्यो । तनहुँसुरको ताज श्री बोकेको बन्दिपुरमा वि.सं.१९३७ देखि नै मिलिशिया गोश्वारा स्थापित भएको थियो । पश्चिम ३ न्र तनहुँ, लमजुङ र कास्कीको बढीगोश्वरा पनि वि.संं १९७०—१९७२सम्म बन्दिपुरमा नै रहेको थियो । पश्चिम ३ नंका बढी गोश्वरा पोखरा सरे पछि बन्दिपुर छोटी गोश्वरा परिणत भएको हो भनिन्छ । ( श्रोत बन्दिपुरकी आरध्यदेवी खड्गदेवी (विष्णुबहादुर भण्डारी ) अन्ततः वि.सं.२०२५ सालमा आएर तनहुँ जिल्लाको सदरमुकाम पनि दमौली सरे पछि बन्दिपुरको श्री खोसिएको थियो । यसरी बन्दिपुरले धेरै उकाली ओरालीहरु पार गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली सरे पछि मृत शहरको रुपमा चिनिन पुगेको बन्दिपुर यहाँका नेवारी र मगर संस्कृति एवं “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ”ठान्ने यहाँका लगनशील बसिन्दाले बन्दिपुरलाई फेरी रानी बनाएका छन् । अहिले बन्दिपुरको आर्थिक गतिविधि अगाडि बढाउनका लागि पर्यटन नै एक प्रमुख आधारशिलाको रुपमा देखा परेको छ । यही क्षेत्रमा स्वदेशी तथा विदेशीहरु आफ्नो लगानी बन्दिपुरमा भित्र्याउन चाहन्छन् तर त्यसको लागि सरकारी तवरबाट उचित वातावरण सिर्जना गर्नु पर्ने यहाँका व्यवसायीहरु बताउँछन् । प्रकृति संकृति , शिक्षा कला सभ्यता रहन सहन र जैविक विविधताले सम्पन्न बन्दिपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम भन्दा पनि अहिले “पहाडकी रानी पर्यटनकी खानी” भनेर चिनिन पुगेको छ । त्यही भएर बन्दिपुर आन्तरिक तथा बाह्य पर्यटका माझ सुपरिचत बन्न पुगेको छ । मुकुन्देश्वरी ७०० मिटर सिढी पदमार्ग निर्माण गर्न बन्दिपुर गाउँपालिकाले एक पटक रु ५,००,०००।—बजेट बिनियोजन गरेको र त्यस पछि बांकी सिंढी निर्माण गर्ने काम , मुकुन्दसेनको खण्डहर दरवार पुननिर्माण गर्ने काम , र दरवार आसपासका पोखरी, इनार, मन्दिर निर्माण गर्ने तर्फ केन्द सरकार, प्रदेश सरकार र स्थानीय गाउँ पालिकाले पहल नगरेकोमा मुच्चुक निवासी सुकुमलाल गुरुङले चिन्ता व्यक्त गर्नु भएको थियो । मुच्चोकबाट मुकुन्देश्वरी सम्म बिजुली लाइन बिस्तार गरिए पनि पूर्वाधार तयार नभएको हुनाले विजुली औचित्यहीन बन्न पुगेको छ । यस विषयमा बन्दिपुर गाउँ विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पर्यटनका पूर्वाधार तयार गर्न स्थानीय निकायको मात्र चाहना इच्छा भएर नहुने र यसका लागि सम्बन्धित क्षेत्रका जनताहरुको पनि चासो रहनु पर्ने बताए । विभिन्न कोट गढी,किल्ला मठमन्दिर, ताल तलैया ऋषिमुनीको तपोकेन्द्रहरु पुरातात्विक धरोहर पर्यटनका पूर्वाधार भएकाले ओझेलमा परेको मुकुन्देश्वरी डाँडा लक्षितगरी मुकुन्देश्वरी एकीकृत दिगो पर्यटन विकासका लागि अब छिट्टै स्थानीयपालिका एवं स्थानीय जनताको सक्रिय सहभागिता रहने गरी एक उपभोक्ता समिति गठन गरेर अगाडि बढ्न सकिएमा बन्दिपुर गाउँपालिका यस क्षेत्रको विकासमा सदैव तत्पर रहने कुरामा गा.वि.स. अध्यक्ष सुरेन्द्र बहादुर थापाले जोड दिएका थिए । – बस्न्यात तनहुँका ऐतिहासिक अनुसन्धान कर्ता लेखक हुन् ।
























