प्रहार समाचार । तनहुँ, २४ बैशाख २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–७ नरङ्गा, शेसमटारस्थित व्यास नगर समता विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सामाजिक सेवामूलक कार्यक्रमबाट लाभान्वित भएका छन् । आधुनिक ह्यान्डसम पार्लर, व्यास–२ दमौलीको पहलमा विद्यालयका २३ जना विद्यार्थीको निःशुल्क कपाल काटिएको हो ।

कपाल काट्ने तालिम लिइरहेका १५ जना प्रशिक्षार्थीले अभ्यास शिक्षण अन्तर्गत विद्यार्थीहरूको कपाल काटेका थिए । सीप सिकाइलाई व्यवहारमा उतार्दै समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अभिभावक विहिन भएकाले सिङ्गो व्यास नगरपालिका नै अभिभावक भएकाले यस्ता सहयोगले उनीहरूमा सकारात्मक प्रभाव पर्ने बताए । उनले विद्यार्थीको सरसफाइ, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरे ।

आधुनिक ह्यान्डसम पार्लरका सञ्चालक मोहम्मद मोबिन आलमले सीप केवल आम्दानीको माध्यम मात्र नभई समाजसेवासँग पनि जोडिनुपर्ने बताए । उनले युवालाई स्वरोजगार र व्यवहारिक सीपतर्फ आकर्षित गर्न यस्ता अभ्यासमूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

पार्लरले आधुनिक शैलीमा कपाल काट्ने, सेटिङ गर्ने लगायत सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्नुका साथै नयाँ पुस्तालाई सीपमूलक तालिमसमेत उपलब्ध गराउँदै आएको छ । स्थानीय स्तरमै सीप, सेवा र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने यस्तो अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
























