प्रहार समाचार । काठमाडौँ, २८ बैशाख २०८३ सोमबार । राष्ट्रिय परीक्षा बोर्डले नेपालमै पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरेको छ । सोमबार राति सार्वजनिक गरिएको एसईई २०८२ को नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।शिक्षा सचिव चुडामणि पौडेल ले यस वर्ष समयमै नतिजा सार्वजनिक गर्न परीक्षा प्रणालीमै सुधार गरिएको जानकारी दिए । सरकारको ‘एक महिनाभित्र नतिजा’ सार्वजनिक गर्ने लक्ष्यअनुसार राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षणको शैली परिवर्तन गर्दै परीक्षा केन्द्रमै जाँच गर्ने व्यवस्था मिलाएको थियो । त्यसकै प्रभावस्वरूप बोर्डले चैत २९ गते सकिएको परीक्षा २९ दिनमै सार्वजनिक गर्न सफल भएको हो ।यस वर्षको एसईईमा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।
सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य समूहका विद्यार्थी रहेका थिए । विदेशस्थित जापानको एभरेस्ट स्कुल बाट समेत २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको एसईईलाई यस वर्ष व्यवस्थापन र नतिजा प्रकाशनका हिसाबले सफल मानिएको छ । बोर्डका अधिकारीहरूका अनुसार प्रविधिको प्रयोग, परीक्षण प्रणालीमा सुधार र समयमै उत्तरपुस्तिका मूल्यांकन सम्पन्न भएकाले नतिजा प्रकाशनमा ढिलाइ हुन पाएन । विगतका वर्षहरूमा एसईई नतिजा सार्वजनिक हुन दुई महिनासम्म लाग्ने गरेकामा यस वर्ष भने बोर्डले छोटो समयमै नतिजा सार्वजनिक गरेर नयाँ उदाहरण प्रस्तुत गरेको छ । शिक्षा क्षेत्रमा यसलाई परीक्षा व्यवस्थापनको सुधारिएको अभ्यासका रूपमा हेरिएको छ ।
नतिजा यसरी हेर्न सकिन्छ :

























