हेडलाईनसमाचारगण्डकी

लमजुडको उदिपुरमा गएको पहिरो नियन्त्रण अन्तिम चरणमा, यात्रु जोखिम हट्दै

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुड , २८ बैशाख २०८३ सोमबार । लमजुङको बेसीशहर–१ उदिपुरमा पाँच वर्षदेखि सडक अवरुद्ध गराउँदै आएको पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाले आधुनिक प्रविधिको प्रयोग गर्दै करिब ९८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

वर्षेनी पहिरोका कारण जोखिममा पर्ने यस सडकखण्ड अहिले भने सुरक्षित र व्यवस्थित बन्दै गएको छ । आयोजना प्रमुख सतिस सुवेदीका अनुसार पहिरो नियन्त्रणका लागि ‘सोयल नेलिङ’, ‘थ्रीडी’, ‘माइक्रो पाइलिङ’, ड्रेनेज प्रणाली तथा ‘सर्फेस बायो–इन्जिनियरिङ’ जस्ता आधुनिक प्रविधि प्रयोग गरिएको छ । मर्स्याङ्दी नदी किनारमा पर्खाल निर्माण गर्नुका साथै ४५ मिटर उचाइ र ८० मिटर लम्बाइमा ग्याबिन जाली जडान गरिएको छ । त्यस्तै सडकमाथि ८० मिटर उचाइ र ७० मिटर लम्बाइ क्षेत्रमा पहिरो ‘नेलिङ’ गरिएको छ ।

सडक सुरक्षालाई दीर्घकालीन बनाउन तीन सय मिटर सडक कालोपत्रे गरिएको छ भने चार सय मिटर नाली व्यवस्थापनका लागि पाइप बिछ्याउने काममध्ये करिब डेढ सय मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । अन्य अधिकांश संरचनागत काम सम्पन्न भइसकेकाले आगामी वर्षायामअघि नै पहिरोको जोखिम न्यून हुने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँ लागतमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड ले निर्माणको जिम्मा लिएको हो । कम्पनीले २०७९ चैत १७ गतेदेखि काम सुरु गरेको भए पनि निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक २०८३ वैशाखसम्म अन्तिम म्याद तोकिएको छ । आयोजना प्रमुख सुवेदीले भने अब थप ढिलाइ नगरी काम सम्पन्न हुने दाबी गरेका छन् ।

भू–बनोटका हिसाबले कमजोर मानिने उदिपुर क्षेत्रमा हरेक वर्ष पहिरो खस्दा मनाङ जाने सवारीसाधन र स्थानीय बासिन्दा समस्यामा पर्दै आएका थिए । सडक अवरुद्ध हुँदा यात्रु घण्टौँ अलपत्र पर्ने अवस्था रहन्थ्यो । तर अहिले सडक स्तरोन्नतिसँगै सवारी सञ्चालन सहज हुन थालेको छ । स्थानीयवासीले पनि दीर्घकालीन रूपमा समस्या समाधान हुने अपेक्षा गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button