हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिका भित्रै ६ वटा विद्यालय विद्यार्थी अभावमा समायोजन : सामुदायिक विद्यालयप्रति प्रश्न चिन्ह खडा

प्रहार समाचार । तनहुँ, २६ वैशाख २० ८३ शनिबार । व्यास नगरपालिका भित्रका छ वटा सामुदायिक प्राथमिक विद्यालय विद्यार्थी अभावकै कारण समायोजनमा पर्ने भएका छन् । नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि पर्याप्त विद्यार्थी भर्ना हुन नआएपछि नगरपालिकाले विद्यालय समायोजनको निर्णय गरेसँगै सामुदायिक शिक्षाको वर्तमान अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

वर्षौंदेखि गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गए पनि प्रभावकारी सुधारका कार्यक्रम ल्याउन नसक्दा अन्ततः विद्यालय नै ‘बाल विकास केन्द्र’ मा सीमित हुने अवस्था आएको हो । बसाइँसराइँ, निजी विद्यालयप्रतिको आकर्षण, सामुदायिक विद्यालयको कमजोर शैक्षिक वातावरण र अभिभावकको घट्दो विश्वासका कारण गाउँका विद्यालय रित्तिँदै गएको स्थानीयको भनाइ छ ।नगरपालिकाले वडा नं. १ को जनसेविका, वडा नं. ५ को मानुङ, वडा नं. ७ को वसन्तकाली, वडा नं. ८ का कृष्णालय र सोमाजन तथा वडा नं. १२ को जनमिलन प्राथमिक विद्यालय समायोजन गर्ने निर्णय गरेको छ ।

अब ती विद्यालयमा बाल विकास कक्षा मात्र सञ्चालन हुनेछ भने अन्य कक्षाका विद्यार्थीलाई नजिकका विद्यालयमा स्थानान्तरण गरिने जनाइएको छ ।कतिपय विद्यालयमा विद्यार्थीको सङ्ख्या एकल अंकमा झरेको अवस्थामा पनि वर्षौंदेखि शिक्षक दरबन्दी कायम रहनुले राज्यको लगानी प्रभावकारी बन्न नसकेको टिप्पणी हुन थालेको छ । एकातिर विद्यार्थी अभावले विद्यालय सुनसान बन्दै गएका छन् भने अर्कोतर्फ निजी विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । यसले सामुदायिक शिक्षाप्रतिको विश्वास कमजोर बन्दै गएको स्पष्ट देखाएको शिक्षा सरोकारवालाहरू बताउँछन् ।नगर प्रमुख वैकुण्ठ न्यौपानेले शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित हुँदा पठनपाठन प्रभावित भएको स्वीकार गरे । उनका अनुसार कतै विद्यार्थीभन्दा शिक्षक बढी छन् भने कतै शिक्षक अभाव छ । “उपलब्ध जनशक्तिको वैज्ञानिक व्यवस्थापन गर्न समायोजन आवश्यक भयो,” उनले भने ।

विद्यालय समायोजनसँगै शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि नगर प्रमुखकै संयोजकत्वमा पाँच सदस्यीय विशेष समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र दरबन्दी मिलानसम्बन्धी ठोस प्रस्ताव पेश गर्न जिम्मेवारी दिइएको छ ।नगरपालिकाका प्रवक्ता सुरेश थापाले विद्यालय समायोजनलाई सामुदायिक शिक्षाको सुधार अभियानका रूपमा लिनुपर्ने बताए । तर स्थानीय अभिभावक भने विद्यालय बन्द गरेर मात्र समस्या समाधान नहुने तर्क गर्छन् । उनीहरूका अनुसार शिक्षाको गुणस्तर सुधार, दक्ष शिक्षक व्यवस्थापन र सामुदायिक विद्यालयप्रति भरोसा जगाउने वातावरण नबनाइए अझ धेरै विद्यालय संकटमा पर्ने खतरा छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button