प्रहार समाचार । किएभ, ३० वैशाख २०८३ गते । रूसले युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा बुधबार गरेको भीषण हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार रूसी सेनाले एकै क्षेत्रमा करिब ३० वटा हवाई आक्रमण गर्दा सर्वसाधारण नागरिक बढी प्रभावित भएका हुन् । आक्रमणपछि विभिन्न आवासीय भवन, पूर्वाधार र सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको बताइएको छ ।युक्रेनी प्रशासनले आक्रमणपछि उद्धार तथा उपचार कार्य तीव्र बनाइएको जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन सेवा परिचालन गरिएको छ ।
स्थानीय बासिन्दामा त्रास फैलिएको छ र कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।यसअघि पनि रूसी सेनाले सोही क्षेत्रमा ५० भन्दा बढी तोप तथा ड्रोन आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका थिए । त्यतिबेला पाँच जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । पछिल्ला दिनहरूमा रूसले पूर्वी तथा मध्य युक्रेनका विभिन्न क्षेत्रमा आक्रमणको तीव्रता बढाउँदै लगेको देखिएको छ ।सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रूस–युक्रेन युद्ध रोक्न अन्तर्राष्ट्रिय स्तरमा पटक–पटक पहल भए पनि ठोस समाधान निस्किन सकेको छैन । कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षबाट आक्रमण र सैन्य कारबाही निरन्तर भइरहेका छन् ।
























