हेडलाईनसमाचारगण्डकीऋषिङ

श्रमदानमा सीमित तनहुँको ‘शृङ्गपथ’ अभियान : प्रशासनको रोकपछि पालिकालाई मर्मतमा सक्रिय हुन दबाब

प्रहार समाचार । तनहुँ, २४ बैशाख २०८३ बिहीबार । तनहुँको भिमाद–ऋषिङ्ग क्षेत्र जोड्ने शृङ्गपथ सडक मर्मत अभियान प्रशासनको निर्देशनपछि श्रमदानमै सीमित बनेको छ। “हामी बनाउँछौँ हाम्रो शृङ्गपथ” अभियान अन्तर्गत भिमाद मालेबगरदेखि धेनुङ देउराली हुँदै ऋषिङ्ग पोखरी भन्ज्याङसम्म सडक स्तरोन्नति गर्ने तयारी भइरहँदा जिल्ला प्रशासन कार्यालय तनहुँले श्रमदान बाहेक अन्य काम नगर्न निर्देशन दिएपछि अभियानको स्वरूप परिवर्तन भएको हो।

अभियान संयोजक शुभसुन प्रयास रानाका अनुसार सडक डिभिजन कार्यालय दमौलीको निर्णयअनुसार टिप्पर र जेसीबी एक साताका लागि उपलब्ध गराइने तथा स्थानीय तहको सहकार्यमा सडक मर्मत अघि बढाउने योजना थियो। तर, सचेत युवा समूह तनहुँमार्फत परेको उजुरीका आधारमा प्रशासनले हस्तक्षेप गरेपछि हालसम्म ३ सय २५ जनाको सहभागितामा केवल सरसफाइसम्बन्धी श्रमदान मात्र गरिएको छ।

यसैबीच, अभियानले यहि वैशाख २६ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म धेनुङ देउरालीदेखि ऋषिङ्ग पोखरी भन्ज्याङसम्म सडक नाली सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ। अभियानले उक्त क्षेत्रमा पर्ने जनप्रतिनिधि र स्थानीय बासिन्दालाई अनिवार्य रूपमा श्रमदानमा सहभागी गराउन सम्बन्धित पालिकाहरूसँग आग्रह गरेको छ।

अभियान पक्षले भिमाद, ऋषिङ्ग र घिरिङ गाउँपालिकालाई तत्काल बैठक बसी बिग्रिएका तथा भत्किएका सडक खण्डमा ग्राभेलिङ कार्य अघि बढाउन ध्यानाकर्षण गराएको छ। सडकको दयनीय अवस्थाका कारण स्थानीय जनजीवन प्रभावित भइरहेका बेला प्रशासनिक रोकले मर्मत कार्य ढिलाइ भएको भन्दै सरोकारवालामाझ असन्तोष बढ्दै गएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button