प्रहार समाचार । तनहुँ, ३० बैशाख २०८३ बुधबार । तनहुँ – चितवन सडकअन्तर्गत बुद्धसिंह मार्गको घुमाउनेघाटस्थित त्रिशूली नदीमाथि निर्माणाधीन पुलको ठेक्का अन्ततः तोडिएको छ । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय दमौलीले निर्माण व्यवसायीसँगको सम्झौता रद्द गर्दै कानुनी प्रक्रिया अघि बढाएको हो ।

सडक डिभिजन दमौलीले सार्वजनिक सूचना जारी गर्दै ठेक्का नम्बर 109-DB/069/70 अन्तर्गत निर्माणाधीन “डिजाइन एन्ड बिल्ड अफ त्रिशूली ब्रिज (घुमाउनेघाट)” परियोजनामा गम्भीर सम्झौता उल्लंघन भएको निष्कर्षसहित ठेक्का अन्त्य गरिएको जनाएको छ । कार्यालयका अनुसार तोकिएको समय र थपिएको म्यादभित्र पनि निर्माण सम्पन्न हुन नसकेको, पटक–पटक निर्देशन दिँदा समेत निर्माण कम्पनीले काम अघि नबढाएको तथा सम्झौताको अवधि नै सकिएको अवस्थामा “फन्डामेन्टल ब्रिच अफ कन्ट्रयाक्ट” भएको ठहर गरिएको हो ।
यो पुल निर्माणको जिम्मा मकवानपुरस्थित मृतसंजीवनी निर्माण सेवा प्रालिले पाएको थियो । तर १२ वर्ष बित्दा पनि जम्मा ३६ प्रतिशत मात्र काम सम्पन्न भएपछि सरकार कडा कदम चाल्न बाध्य भएको कार्यालयको भनाइ छ । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ठेक्का अन्त्य गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइएको छ । कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माणस्थल खाली गर्न निर्देशन दिएको छ । साथै सम्झौताअनुसार भुक्तानी हुन बाँकी स्वीकार्य काम भए १५ दिनभित्र कार्यालयमा सम्पर्क राखेर वित्तीय फरफारक गर्न भनिएको छ ।

दमौलीबाट चितवन पुग्ने छोटो वैकल्पिक मार्गका रूपमा हेरिएको बुद्धसिंह मार्गमा पर्ने यो पुल लामो समयदेखि अलपत्र रहँदा स्थानीयवासी र यात्रु मारमा पर्दै आएका थिए । वर्षौंदेखिको ढिलासुस्तीपछि ठेक्का रद्द गरिएकाले अब नयाँ बोलपत्रमार्फत बाँकी काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
























