साहित्यप्रदेश

प्रहार साहित्य : गाउँको कथांश

सिउदैन अचेल शहरले
जीवन फाट्न लागेको जीर्ण हृदय
गाउँ-बस्तीमा प्रत्येक प्रहर
ध्वार्ध्वार्ती च्यातिएका छन्
आमा-बा र आफन्तीको मन

फिका छ दशै, तिहार
उँभौली र उँधौलीमा
वयस्क हातहरूले
लिप्सेर मुस्कुराउन छोडेका छन्
घर, गोठ र अटालीहरू

आँगनको तुलसी मोठ
परदेश भएको छ
गाह्रो मानेर फुल्दै छ सयपत्री
फुस्रिएको मखमलीले पर्खिरहेको छ
हात र गलाको स्पर्श

काँस जस्तै भएको छ
आमा, काकी र फुपुको कपाल
आँखाले ठम्याउन छोडेको छ
करेसाको छिमेकी
क्रमश क्रमशः
चुढिदैछन् काट्दा काट्दै गरेको
लक्ष्यवर्तिकाको सूत्र

काफल पाकेको खुसीमा
कुहुकुहुको सुरिलो आवाज भर्न
जाँगर गर्दिनन् कोइली
दलान र पीढीको ढिकी र जाँताहरूले
चाख्न पाएका छैनन् ताइचिनको चिउरा
सत् संकल्पका नाममा
बोल्दैनन् फरासिला चौताराहरू
विषाद समयको अन्तर्दशामा
उदास उदास गाउँघरले
कसरी उचाल्न सक्लार देशको समृद्धि ?

वालुवामा गाउँको पसिना र यौवन
फुलेर ढकमक्क भएको सपनाले
कतै गाउँ फुरुङ्ङ छ
कुनै गाउँको यौवना
आसुले भिजेर धुमिल छ
डाँडामाथिका जूनहरू खसेर
धरापमा छन् बाले बनाएको सिकुवा

अथाह छन्
गाउँमा घटित
हृदयविदारक कथाका अंशहरू
वन, विहग विरहमा
सुसेल्न नसकेर थकित भएको छ
यतिबेला गाउँ बिरामी छ
बन्द विमानबाट
वियोगको समाचार बोकेर आउने बाकस बोक्न
अशक्त र असमर्थ भई सकेको छ गाउँ ।

• ललितपुर ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button