प्रहार समाचार । काठमाडौँ, २२ वैशाख २०८३ मंगलबार । देशका अधिकांश भूभागमा आजदेखि मौसम अस्थिर हुने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि घना बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ।

यसका साथै अन्य प्रदेशका थोरै स्थानमा पनि यस्तै खालको मौसमी गतिविधि देखिने अनुमान गरिएको छ।महाशाखाले रातिको अवस्थाबारे पनि सतर्क रहन आग्रह गरेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा राति सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
बाँकी प्रदेशमा आंशिक बदली भए पनि एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने देखिएको छ। बदलिँदो मौसमका कारण विशेषगरी पहाडी यात्रा, कृषि कार्य र दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
























