विचारप्रदेश

‘आफु रोपिएको र उम्रिएको माटोमा नै फक्रिनु पर्छ ‘  – दिपकराज जोशी

आफु रोपिएको र उम्रिएको माटोमा नै फक्रिनु पर्छ, आफ्नैँ  देशमा केहि गर्नुपर्छ भनेर स्वदेश फर्किएको मलाई  यतिबेला राज्यले नयाँ परिचय दिएको छ। त्यो हो भ्रष्टाचारीको छोरो।अस्ति सर्वोच्च अदालतले मेरो बुवा गोविन्दराज जोशीलाई ६९ लाख १५ हजार भ्रष्टाचार गरेको हो  भनेर भ्रष्टाचारी ठहर गर्दै दोषी प्रमाणित गरको छ। जसले मलाई थुप्रै प्रश्नहरूको जवाफ खोज्न बाध्य बनाइरहेको छ। अझै भनौँ आफैँ भित्र सवाल जवाफको जुहारी चलिरहेको छ।

जसमध्येको‌ एउटा प्रश्न हो अकुत सम्पत्ति आर्जन गर्ने मानिसको जीवनशैली त बडो विचित्रको हुनुपर्ने हो । तर किन मेरो परिवारको जिवनस्तर त्यस्तो छैन?
आज पनि मेरो घरमा बुवाआमा सुत्ने कोठामा एयर कण्डिसन होइन सामान्य कुलर छ। मेरो कोठामा स्ट्यान्ड फ्यान छ।हाम्रो पाउना सुत्ने  कोठामा पंखा समेत छैन।मेरी आमा जाडोको मौसममा ग्याँस धेरै सकिन्छ भनेर ग्याँस बाट चल्ने हिटरको तीनवटा बर्नरमध्ये एउटा मात्रै बर्नर बालेर आफूलाई न्यानो बनाउनुहुन्छ।  मेरो बुवा आमाले बाहिर रेस्टुरेन्टमा गएर खाएको विरलै देखेको छु। विदा मनाउने नाउँमा देशविदेश घुम्न गएको अहिलेसम्म देखेको छैन। जाडोको बेलामा पुरानो सोलारले पानी तातो नहुँदा चिसै पानीले नुहाएको देखेको छु। जुन जिवनस्तर मध्यम वर्गीय परिवारका प्राय जसो सबैले भोगेका छन् ।त्यो भन्दा पृथक केहि नदेख्दा मलाई अचम्म लाग्छ। अनि सोच्छु कहाँ छ त्यो अकुत सम्पत्ति? कसैले खोजेर ल्याइदिए पनि हुने।

मैले यो लेखिरहँदा यो दाबी गर्न खोजेको होइन कि मेरो बुवा दुधले नुहाउनु भएको छ। नेपाली कांग्रेसको सदस्य भएको नाताले  र पार्टिगत भूमिका निर्वाह गर्ने क्रममा गोविन्द राज जोशी लगायत सबै नेताहरुले पार्टीको लागि गरेको संस्थागत र नीतिगत रुपमा भएका त्रुटिहरुको जिम्मेवारी लिनै पर्छ।  यदि कांग्रेसले संस्थागत भ्रष्टाचार र नीतिगत नराम्रा काम र घोटालाहरुको जिम्मेवारी बहन गर्यो भने पार्टीका ९९ प्रतिशत मान्छेहरु कारबाहीमा पर्नेछन्। व्यक्तिगत रूपमा झन्डै ६०% कांग्रेसका नेताले घोटाला गरेका छन्। तर व्यक्तिगत रूपमा हाम्रो परिवारले देशको सम्पति हिनामिना गरेको छैन। गरेको छ भने  के मा गरेको छ प्रस्ट पारिदिनु होला।

गोविन्दराज जोशीले न त धमिजा, लाउडा काण्ड नै गराए, न त सुडान घोटाला, न त भुटानी शरणार्थी काण्ड नै गराए, न त बालमन्दिर काण्ड नै गराए। ती सबै काण्ड गराउनेहरू र उनीहरुको परिवार अहिले पनि राजनीतिमा शिर ठाडो गरेर हिँडिरहेका छन्।र समाजले उनीहरूलाई जय जयकार गर्दै सहर्ष स्वीकारेको छ।

तपाइँ आज पनि हाम्रो घरमा आउन चाहनुहुन्छ भने आउनुस् तपाईँलाई यो देशले भ्रष्टाचारी ठहर्याएको गोविन्दराज जोशीको घरमा निमन्त्रणा छ। हामीसँग तीन चार दिन बस्नुहोस्। हामी सँगै खाना, खाजा खानुहोस् , त्यसपछि पनि तपाईँलाई गोविन्दराज जोशीले भ्रष्टाचार गरेको गन्ध आयो भने तपाईंको  घरमा बाँकी जीवन नोकर भएर बस्ने  प्रतिज्ञा गर्छु। यदि भ्रष्टाचारको गन्ध आएन भने मेरो परिवारले २२ वर्ष सम्म भोगेको  मानसिक यातनाको क्षतिपूर्ति के हुन्छ र कुन कुराले परिपुर्ति गर्दछ?

यो पब्लिसिटी स्टन्ट होइन। सोचाइ, बोलाई र काम गराईको तालमेल नमिलेको समाजमा म जे सोच्छु त्यो बोल्छु जे बोल्छु त्यो गर्छु। मलाई झुटको सहारा लिएर जित हासिल गर्नुभन्दा सत्य मार्गमा हिँडेर हार्न आनन्द आउँछ। म सोझो छु किनभने सत्य सोझो हुन्छ।र यो पनि हो कि सोझाहरू र सिधाहरु सदैब निसानामा हुन्छन्। भनिन्छ नि बाङ्गो भन्दा सिधा रुख छिटो काटिन्छ।

एउटा पुरानो अन्तरवार्ता हेर्नु होला। यदि यो अन्तरवार्ता हेर्दा तपाईँलाई म झुटो जस्तो  लाग्यो भने म शायद चलचित्रमा पुरस्कार पाउन सक्ने कलाकार बन्न सक्छु होला।
https://youtu.be/PVZ7V1Hnlj4


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button