हेडलाईनविचारसाहित्यबागमती

पहेँलो भवनसँगको पुनर्भेट : ‘जहाँबाट जीवनको यात्रा सुरु भएको थियो ।’ -डा. अरुण सेढाई

‘महाराजगञ्ज मेडिसिन क्याम्पसको त्यो पहेँलो भवन वि.सं. २०२३ साल चैत १८ गते, तत्कालीन श्री ५ युवराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको बाहुलीबाट सहायक स्वास्थ्य कार्यकर्ता विद्यालय भवनको समुद्घाटन सम्पन्न भएको थियो। यही ऐतिहासिक भवनले दशकौँदेखि हजारौँ स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्दै नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।’ भन्दै डा. अरुण सेढाई आफ्नो विगतको संस्मरण यसरी गर्छन् :

वि .सं. २०४९ सालको वैशाख। महाराजगञ्ज मेडिसिन क्याम्पसको त्यो पहेँलो भवनभित्र पहिलोपटक पाइला टेक्दा हामी १६–१७ वर्षका सपनाले भरिएका किशोर थियौँ। भविष्यको कुनै स्पष्ट चित्र थिएन, तर आँखाभरि आशा थियो, मनभरि उत्साह थियो र केही बन्ने दृढ संकल्प थियो।त्यो भवन इँटा, सिमेन्ट र रङले बनेको संरचना मात्र थिएन।

त्यहीँबाट ज्ञानको ढोका खुलेको थियो। त्यहीँ जीवनलाई बुझ्ने, संसारलाई चिन्ने, सम्बन्ध गाँस्ने, संघर्षलाई आत्मसात गर्ने र आफ्नो गन्तव्य तय गर्ने यात्राको सुरुआत भएको थियो। समयसँगै हामी आ–आफ्नो कर्मभूमिमा पुग्यौँ। कोही चिकित्सक भयौँ, कोही शिक्षक, कोही अनुसन्धानकर्ता, कोही समाजसेवामा समर्पित भयौँ। तर ती सबै यात्राको पहिलो अध्याय भने यही पहेँलो भवनले लेखिदिएको थियो।

यस भवनको आफ्नै गौरवशाली इतिहास पनि छ। भवनमा रहेको शिलालेखअनुसार वि.सं. २०२३ साल चैत १८ गते, तत्कालीन श्री ५ युवराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको बाहुलीबाट सहायक स्वास्थ्य कार्यकर्ता विद्यालय भवनको समुद्घाटन सम्पन्न भएको थियो। यही ऐतिहासिक भवनले दशकौँदेखि हजारौँ स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्दै नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। आज, वर्षौँपछि कामको सिलसिलामा फेरि त्यही भवनअगाडि उभिने अवसर मिल्यो। समय धेरै अघि बढिसकेको छ, भवन पनि जीर्ण देखिन्छ। तर त्यसका भित्ताहरूमा अझै हाम्रा हाँसोहरू प्रतिध्वनित छन्, गल्लीहरूमा हाम्रा पाइला गुन्जिरहेका छन् र कक्षाकोठाका झ्यालहरूले अझै हाम्रा सपनाहरू सम्झिरहेका छन्।

कैयौँ यात्रुलाई सुरक्षित किनारसम्म पुर्‍याएर आफैँ किनारमा एक्लिएको पुरानो डुङ्गाजस्तै यो भवन इतिहासको मौन तर जीवित साक्षी बनेर उभिएको छ।क्षणभरका लागि लाग्यो, समय रोकिएको छ। म फेरि २०४९ सालको त्यही वैशाखमा फर्किएको छु। उमेरले धेरै दूरी तय गरिसकेको भए पनि स्मृतिले समयको दूरी मेटाइदियो। साँच्चै, जीवनमा केही ठाउँहरू कहिल्यै पुराना हुँदैनन्। ती केवल भवन हुँदैनन्, ती हाम्रा सपना, संघर्ष, आत्मविश्वास र सफलताको पहिलो पाठशाला हुन्छन्। ती ठाउँहरूले हामीलाई सधैँ सम्झाइरहन्छन्—जरा बलियो भए जीवनका हाँगाहरू जहाँ फैलिए पनि आफ्नो अस्तित्व कहिल्यै हराउँदैन।

( डा. सेढाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,नेफ्रोलोजी विभाग, वीर अस्पताल काठमाडौंका प्राध्यापक हुन्।) सम्पादक



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button