प्रहार समाचार । तनहुँ, २८ भदौ २०८३ आइतबार । तनहुँको भिमादमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा निधन भएको छ। भिमाद नगरपालिका–२ टेक्रेका ४२ वर्षीय धनबहादुर थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।प्रहरीका अनुसार भदौ २६ गते साँझ करिब ७ बजे घरनजिकैको बारीमा रहेका थापालाई अरिङ्गालले घाँटी, हातलगायत शरीरका विभिन्न भागमा टोकेको थियो। तस्विर : साङ्केतिक एआई

अरिङ्गालको पटक–पटकको टोकाइबाट उनी गम्भीर घाइते भएका थिए।घाइते थापालाई तत्काल उपचारका लागि भदौ २७ गते राती जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बिहान थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। तर, चिकित्सकले भदौ २८ गते बिहान ८ः१३ बजे उपचारकै क्रममा थापालाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

















