प्रहार समाचार । तनहुँ, २८ भदौ २०८३ आइतबार । पृथ्वी राजमार्ग अर्न्तरगत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा फलामका पाइप बोडोको ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आज बिहान दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार राजमार्गमा गुडिरहेको ट्रक अचानक आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको थियो। दुर्घटनाको खबरलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ११ जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का करिब २६ वर्षीय ट्रक चालक अजय थिङ गम्भीर घाइते भएका थिए। प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याएको थियो। तर, उपचारकै क्रममा बिहान करिब ९ बजे चिकित्सकले थिङलाई मृत घोषणा गरेका हुन्।

ट्रकमा रहेका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको भए पनि पृथ्वीराजमार्गमा यातायात आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

















