प्रहार समाचार । सल्यान, २७ भदौ २०८३ शनिबार । सल्यानमा आज भएको जिप दुर्घटनाले दुई परिवारमा शोक निम्त्याएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थाका चालकसहित चार जनालाई थप उपचारका लागि दाङ रिफर गरिएको छ। तस्बिर : साङ्केतिक एआई

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ की १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिए।दुर्घटनामा घाइते भएका त्रिवेणी–५ सिम्खका २४ वर्षीय जिप चालक भुपाल पुन, त्रिवेणी–६ की ४२ वर्षीया लालमती बुढाथोकी, त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ पठाइएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार चालक पुन र लालमतीको अवस्था गम्भीर रहेको छ।एकै दुर्घटनामा दुई जनाको ज्यान गएपछि त्रिवेणी क्षेत्रमा शोक छाएको छ। दुर्घटनामा घाइते चारै जनालाई थप उपचारका लागि दाङ पठाइएपछि उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

















