हेडलाईनसमाचारबागमती

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेलको चासो, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

प्रहार समाचार । काठमाडौं, १५ साउन २०८३ शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा विकसित विषम परिस्थितिका विषयमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, जातीय एकता तथा राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा लामो समयदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव कुनै पनि कारणले खल्बलिन नहुने उल्लेख गर्दै शान्ति, सहिष्णुता र आपसी विश्वास कायम राख्न राज्य, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक सबैको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

छलफलमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान विषम अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा स्थानीय समुदायलाई विश्वासमा लिएर समस्या समाधानतर्फ अघि बढ्नुपर्ने बताएका थिए। उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै संवाद र सहकार्यमार्फत तनाव न्यूनीकरण गर्न सरकार सक्षम हुनुपर्ने धारणा राखेका थिए। पूर्वउपराष्ट्रपति परमानन्द झासमेत सहभागी रहेको छलफलमा पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो। साथै, शान्ति, सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिप्रति सजग रहँदै संवेदनशील अवस्थालाई संवाद र समझदारीका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्षसमेत छलफलमा व्यक्त गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button