हेडलाईनव्याससमाचारगण्डकी

धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिँदै तनहुँको दमौलीमा संयुक्त अपिल, सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

प्रहार समाचार । तनहुँ, १५ साउन २०८३ शुक्रबार । तनहुँको दमौलीमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई थप सुदृढ बनाउने उद्देश्यसहित दमौली मुस्लिम समाज र वेदव्यास बौद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले संयुक्त विज्ञप्ति जारी गरेका छन्। आज जारी विज्ञप्तिमार्फत परापूर्वकालदेखि शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहेको समाजलाई कुनै पनि बहानामा गलत दिशातर्फ लैजान नहुने भन्दै सबै समुदायलाई संयम, सहिष्णुता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरिएको छ।

विज्ञप्तिमा पछिल्लो समय देखिएका केही गतिविधिले समाजमा अनावश्यक भ्रम र विभाजन सिर्जना हुन सक्ने संकेत देखिएकाले सबै नागरिक सजग रहनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि कायम रहेको सामाजिक सद्भाव, पारिवारिक एकता र धार्मिक सहिष्णुतालाई जोगाउँदै आफू सुरक्षित रहने, परिवार, समाज र संस्थालाई पनि सुरक्षित राख्ने संस्कारलाई पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको विज्ञप्तिमा जोड दिइएको छ।

संयुक्त विज्ञप्तिमार्फत केही दिनपछि आयोजना हुने धार्मिक सद्भाव र्‍यालीमा सबै समुदाय, परिवार, संघसंस्था तथा नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ। उक्त र्‍याली सामाजिक एकता, भाइचारा र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जनाइएको छ।त्यसैगरी, कुनै पनि व्यक्ति वा समूहले कुनै धर्म, समुदाय वा सामाजिक सद्भावमा असर पुग्ने अभिव्यक्ति वा गतिविधि नगर्न पनि विज्ञप्तिमार्फत विनम्र अपिल गरिएको छ।

संयुक्त विज्ञप्तिमा दमौली मुस्लिम समाजका अध्यक्ष हाजी जमाल दिन मियाँ तथा वेदव्यास बौद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य खेमराज जय श्री हरिको हस्ताक्षर रहेको छ। यसै बिच आज संयुक्त रूपमा दमौलीमा पत्रकार सम्मेलन समेत आयोजना गरेर सद्धभाव ऱ्याली गरिने उल्ले गरिएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button