हेडलाईनभानुसमाचारगण्डकी

अब जग्गाको कामका लागि दमौली धाउन नपर्ने, भानु नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु

प्रहार समाचार । तनहुँ, २९ भदौ २०८३ सोमबार । वर्षौंदेखि जग्गासम्बन्धी सामान्य कामका लागि समेत जिल्ला सदरमुकाम धाउनुपर्ने तनहुँका नागरिकको बाध्यता क्रमशः हट्ने भएको छ । गण्डकी प्रदेशमै पहिलोपटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सुरु भएपछि सेवाग्राहीले अब जग्गासम्बन्धी कामका लागि दमौलीसम्म धाउनुपर्ने अवस्था अन्त्य हुने भएको हो।

भानु नगरपालिका–१ भन्सारस्थित सेवा प्रवाह कार्यालयबाट सोमबार सुरु गरिएको सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिजिटल माध्यमबाट शुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने संघीयताको उद्देश्यलाई व्यवहारमै कार्यान्वयन गर्ने दिशामा भानुबाट सुरु भएको भूमि प्रशासन सेवा महत्वपूर्ण कदम भएको बताए ।

स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि नागरिकको समय, खर्च र प्रशासनिक झन्झट घट्ने भन्दै उनले यस्तो अभ्यासलाई थप प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिए । सेवा शुभारम्भकै क्रममा भानु नगरपालिका–२ का तोरणबहादुर अधिकारीलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो ।

नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनलगायतले संयुक्त रूपमा अधिकारीलाई प्रमाणपुर्जा प्रदान गरेका थिए । गण्डकी प्रदेशमा स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन गर्ने भानु पहिलो नगरपालिका बनेको जनाइएको छ ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले नागरिकलाई आफ्नै पालिकाबाट सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले पहल गरिएको बताए । स्थानीय तहबाटै भूमि तथा जग्गा प्रशासन सेवा सुरु हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले सेवाको दिगोपन र प्रभावकारिताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सहज, छिटो र पारदर्शी सेवा नै सुशासनको आधार भएको बताए । भूमि प्रशासनसम्बन्धी कामका लागि एउटै काममा जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हट्नु नागरिकका लागि प्रत्यक्ष राहत भएको उनको भनाइ थियो । उपप्रमुख उमा गोतामेले स्थानीय सरकारको वास्तविक पहिचान नागरिकले पाउने सेवा र समान व्यवहारबाट देखिने बताइन् ।

भानुका प्रमुख प्रशासकीय अधिकृत अमृत सिग्देलले सेवा सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, प्रविधि र सम्बन्धित निकायसँगको समन्वयलाई प्राथमिकता दिइने बताए । उनका अनुसार स्थानीयस्तरमै भूमि प्रशासन सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई ठूलो सहजता पुग्नेछ ।

कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र प्रशासनिक झन्झट घट्ने बताए । पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले स्थानीय तहबाटै सेवा दिने अभ्यासले नागरिकलाई संघीयताको प्रत्यक्ष अनुभूति गराउने बताए । उनले पालुङटार नगरपालिकाले पनि असोज १ गतेदेखि भूमि तथा जग्गा प्रशासन सेवा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलले नागरिकको नजिकै सेवा पुर्‍याउँदा भूमि प्रशासन थप सहज र प्रभावकारी बन्ने बताए । सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक तथा प्राविधिक सहजीकरणका लागि कार्यालयले समन्वय गर्ने उनले बताए । कार्यक्रमको सहजीकरण भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button