प्रहार समाचार । रसुवा , २८ भदौ २०८३ आइतबार । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीले क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको आशा थप बलियो बनेको छ । घटनास्थलबाट करिब ८० मिटरको दूरीभित्र ठूला–ठूला बोल्डर र लेदो थुप्रिएको भेटिएपछि ती हटाउने काम तीव्र पारिएको छ । अवरोध हटाउँदै जाँदा भित्रतर्फ खाली स्थान हुनसक्ने अनुमान गरिएको छ ।

तनहुँ क्षेत्र नम्बर २ का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले आइतबार चिलिमे क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उद्धार तथा सफाइको काम अघि बढिरहेको बताएका हुन् । उनका अनुसार ठूलो परिमाणमा बोल्डर र लेदोका कारण भित्रसम्म पुग्ने बाटो अवरुद्ध भएकाले अहिले प्राथमिकताका साथ ती हटाउने काम भइरहेको छ । बाढीले चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सम्भावित जीवित व्यक्तिको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बन्दै आएको छ । तर, घटनास्थलमा करिब ८० मिटरभित्रै ठूला बोल्डर र लेदो रहेको पत्ता लाग्नु तथा त्यसलाई क्रमशः हटाउने काम भइरहनुले उद्धार टोलीमा नयाँ आशा जगाएको छ ।

अवरोध हट्दै जाँदा भित्र केही खाली ठाउँ भेटिनसक्ने सम्भावनाले सम्भावित जीवित व्यक्तिको उद्धारको आशा कायमै रहेको न्यौपानेले संकेत गरेका छन् ।बाढी प्रभावित क्षेत्रमा न्यौपाने पनि निरन्तर स्थलगत रूपमा खटिँदै आएका छन् । उनले उद्धार र सफाइको काम सहज रूपमा अघि बढेमा आइतबार साँझसम्मै सकारात्मक खबर प्राप्त हुनसक्ने आशा व्यक्त गरेका छन् । उनले सबैलाई सकारात्मक आशा र प्रार्थना कायम राख्न आग्रह गरेका छन् ।


















